उपसभामुख इन्दिरा रानाले जलवायु न्याय सुनिश्चित गर्न नेपाललाई तत्काल अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आवश्यकता रहेको धारणा राखेकी छिन् । चीनको हेनान प्रान्तमा सांघाई सहयोग मञ्चले आयोजना गरेको कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै उपसभामुख रानाले जलवायु परिवर्तनका लागि योगदान नगरे पनि त्यसको प्रत्यक्ष असर भोगेको नेपालका लागि जलवायु न्याय सुनिश्चित गर्न तत्काल अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आवश्यकता रहेको धारणा राखेकी हुन् ।
‘विकासका लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण’ विषयमा सम्बोधन गर्दै उपसभामुख रानाले हिमाली राष्ट्रको रूपमा नेपाल जलवायु संकटको अग्रपंक्तिमा रहेको चर्चा गर्दै हिमनदीहरू पग्लिरहेका छन्, छिटोछिटो मौसमको परिवर्तनका असरले हिमाली र ग्रामीण क्षेत्रका नागरिकमा त्यसको प्रत्यक्ष प्रभाव परेको बताइन् । ‘जलवायु परिवर्तनका असर कम गर्दै लैजान, हरित ऊर्जा प्रवर्द्धन गर्न र जलवायु न्याय सुनिश्चित गर्न हामीलाई तत्काल अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आवश्यकता छ,’ उनले भनिन्, ‘हामीले यो संकट निम्त्याएनौँ, तर हामी समाधानको हिस्सा बन्न दृढ छौँ।’
जलवायु परिवर्तन, असमानता वा क्षेत्रीय तनाव आज हामीले सामना गर्ने चुनौतीहरू एक देशले मात्र सम्बोधन गर्न नसक्ने भएकाले सांघाई सहयोग मञ्चजस्ता प्लाटफर्महरू प्रभावकारी हुने धारणा पनि राखिन् । विकास पहाड, तराई र दुर्गम गाउँहरूमा पनि सबैभन्दा बढी आवश्यकता पर्ने ठाउँमा पुग्नुपर्ने धारणा राख्दै उपसभामुख रानाले नेपालले वातावरणको संरक्षण गर्दै मानिसहरूलाई गरिबीबाट मुक्त गर्न काम गरिरहेको बताइन्। उनले दिगो, सन्तुलित र निष्पक्ष विकासले मात्रै अर्थतन्त्रलाई सशक्त बनाउने पनि बताइन् ।
नेपालले द्वन्द्वबाट शान्तिसम्मको लामो यात्रा तय गरेको चर्चा गर्दै उपसभामुख रानाले लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण सजिलो नभए पनि संवाद, राजनीतिक इच्छाशक्ति र जनसहभागितामार्फत यो सम्भव भएको बताइन् । नेपालले जहिले पनि प्रतिस्पर्धाभन्दा पनि सहकार्यलाई प्राथमिकता दिँदै आएको बताउँदै उपसभामुख रानाले नेपालले पूर्वाधार निर्माण गर्न, व्यापारिक सम्बन्ध बढाउन र जनता–जनताबिचकाे सम्बन्धलाई बलियो बनाउन चीन र अन्य छिमेकीहरूसँग नजिकबाट काम गरिरहेको चर्चा गर्दै साझेदारीले पारस्परिक सम्मान, वातावरणीय दिगोपन र त्यसबाट लाभ लिन सक्ने सिद्धान्तबाट निर्देशित हुँदै आएकाे बताइन् । नेपालले चीनसँग पारस्परिक सम्मान र सहयोगमा आधारित बलियो र ऐतिहासिक सम्बन्धमार्फत शान्ति र प्रगतिप्रतिको साझा प्रतिबद्धता पनि जनाइन्।