११ महिनामा अर्थ मन्त्रालयका ६० कर्मचारीले गरे ७१ पटक विदेश सयर

एउटै कर्मचारीले चारवटासम्म देश घुमे, एकैपटक नौजनासम्मको वैदेशिक यात्रा

आइतबार, १५ असार, २०८२
डिजिटल संस्करण

चालू आर्थिक वर्षको जेठसम्ममा अर्थ मन्त्रालयका ६० जना कर्मचारीले ७१ पटक विदेश भ्रमण गरेका छन् । केही कर्मचारीले ११ महिनामा दुईदेखि चारपटकसम्म गरी १८ देश भ्रमण गरेका छन् । मन्त्रालयका अनुसार विभिन्न तालिम, गोष्ठी, सम्मेलन र अध्ययनका लागि कर्मचारीले विदेश भ्रमण गरेका हुन् ।

भारत, चीन, फिलिपिन्स, थाइल्यान्ड र इन्डोनेसिया प्रमुख गन्तव्यका रूपमा देखिएका छन् । भारत मात्र २० पटक भ्रमण गरिएको छ भने चीन १० पटक भ्रमणमा गएको तथ्यांक छ । त्यस्तै, फिलिपिन्स ६ पटक, थाइल्यान्ड पाँचपटक र इन्डोनेसिया चारपटक भ्रमण भएको छ । अन्य भ्रमण भएका देशहरूमा जापान, जर्मनी, श्रीलंका, फिनल्यान्ड, टर्की, मलेसिया, अस्ट्रिया, कोरिया, अमेरिका, पाराग्वे र इटालीसमेत छन् । एक कर्मचारीले मात्र इन्डोनेसिया, भारत, फिलिपिन्स र सिंगापुर गरी चार देश चारपटक भ्रमण गरेका छन् । 

मन्त्रालयबाट हुने अधिकांश विदेश भ्रमण संगठनको कामसँग सम्बन्धित हुने गरेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । उनले भने, ‘अधिकांश भ्रमण संगठनको कामसँग सम्बन्धित हुन्छन् । कतिपय अवस्थामा अन्तर्राष्ट्रिय समारोहमा नेपालको प्रतिनिधित्व गर्नुपर्ने खालका पनि हुन्छन् । कर्मचारीको तालिमका लागि पनि भ्रमण हुने गरेको छ । सरकारको नियमविपरीत भ्रमण हुने गरेको छैन ।’ 

सरकारी स्रोत प्रयोग गरेर गरिने यस्ता भ्रमण आवश्यक, तर्कसंगत र नीतिगत भए पनि त्यसको प्रभाव मूल्यांकन गरिनुपर्ने विश्लेषकहरू बताउँछन् । यस्ता भ्रमणले मन्त्रालयको क्षमता विकासमा योगदान पुर्यायो कि परदेशी दौडधुपमा सीमित भयो भन्ने विषयमा सार्वजनिक जवाफदेहिता अझै कमजोर देखिएको पूर्वसचिव डा. मुकुन्द पौडेलको भनाइ छ । उनले भने, ‘यस्ता भ्रमणलाई पारदर्शी, मापदण्डमा आधारित र परिणाममुखी बनाउन आवश्यक देखिन्छ । मन्त्रालयस्तरीय जिम्मेवारी र अन्तर्राष्ट्रिय समन्वय आवश्यकताको नाममा गरिएका यी भ्रमणले मन्त्रालयको कार्यकुशलता बढाएको छ कि स्रोतको अनुत्पादक खर्च भएको हो भन्ने प्रश्न उठ्ने गरेको छ ।’

विदेश भ्रमणको प्रवृत्ति
उपलब्ध विवरणअनुसार विदेश जाने कर्मचारीमध्ये केहीले एउटै वर्षमा दुईदेखि चारपटकसम्म विभिन्न देश भ्रमण गरेका छन् । एक कर्मचारीले इन्डोनेसिया, भारत, सिंगापुर र फिलिपिन्स गरी चारपटक भ्रमण गरेका छन् भने अर्का एक कर्मचारीले इन्डोनेसिया र फिलिपिन्स दुईपटक भ्रमण गरेका छन् । 

भारतमा २० पटकसम्म कर्मचारीले भ्रमण गरेका छन् । चीन १० पटक, फिलिपिन्स ६, थाइल्यान्ड पाँच, इन्डोनेसिया चारपटक र अन्य मुलुकजस्तै जापान, मलेसिया, टर्की, अमेरिका, कोरिया, पाराग्वे, फिनल्यान्ड, अस्ट्रिया, इटाली, श्रीलंका, जर्मनी, माल्दोभा र सिंगापुरसमेतमा कर्मचारी पठाइएको देखिन्छ । तथ्यांक हेर्दा अधिकांश भ्रमण वैशाखदेखि मंसिर महिनासम्म केन्द्रित छन् । धेरै भ्रमण छुट्टाछुट्टै नभई संयुक्त रूपमा गरिएका छन् ।

खर्च र पारदर्शिताको प्रश्न
सरकारी सेवामा कर्मचारीको विदेश भ्रमणलाई पूर्णतया नकारात्मक रूपमा हेर्न नमिल्ने अर्थ मन्त्रालयका अधिकारीको तर्क छ । विकास साझेदारहरूसँगको समन्वय, नीतिगत संवाद, सिप अभिवृद्धि, सम्मेलनमा सहभागिताजस्ता कारणले यस्ता भ्रमण आवश्यक पनि हुन्छन् । तर, यस्ता भ्रमण सूचीकृत खर्चको तुलनामा बढी लाभदायक बने कि बनेनन् भन्ने मूल्यांकन भने न्यून छ ।

त्यसबाहेक भ्रमणपछिको फलोअप रिपोर्ट, प्रतिवेदन सार्वजनिकीकरण र त्यसले मन्त्रालयको आन्तरिक कार्यक्षमता वा नीति–निर्माणमा कस्तो प्रभाव पार्यो भन्ने मूल्यांकन गर्ने औपचारिक संयन्त्र छैन । त्यसैले भ्रमण अवसरभन्दा औपचारिकता पूर्ति वा व्यक्तिगत लाभप्राप्तिको माध्यम मात्र हुन् कि भन्ने आशंका उत्पन्न हुनु अस्वाभाविक नभएको पूर्वसचिव पौडेलको तर्क छ । तर, कतिपय कर्मचारी एकैपटक चार देश भ्रमणमा जान पाउँदा अन्यले अवसर नै नपाएको केही कर्मचारीको गुनासो पनि छ । एक कर्मचारीले भने, ‘यदि क्षमता, जिम्मेवारी वा कार्यदक्षता आधार मानेर भ्रमणको छनोट गरिएको हो भने त्यसबारे स्पष्ट आधारसहित सूचना सार्वजनिक हुनु आवश्यक छ ।’

सुझावित समाचार