संसद् निरन्तर अवरुद्ध, खुलाउने प्रयास निरर्थक

२० जेठदेखि बजेटमा छलफल र ५ असारमा पारित गर्ने कार्यसूची, तर गतिरोधले छलफल सुरु नै भएन

बिहिबार, ३० जेठ, २०८२
डिजिटल संस्करण
संसद् निरन्तर अवरुद्ध, खुलाउने प्रयास निरर्थक

गृहमन्त्रीमाथि छानबिनको माग गर्दै बुधबार प्रतिनिधिसभा बैठकमा नाराबाजी गरिरहेका विपक्षी दलका सांसद । तस्बिर : अमूल थापा/नयाँ पत्रिका

भिजिट भिसाको दुरुपयोग र मानव तस्करी प्रकरणमा सत्तापक्षले संसदीय छानबिन गर्न नमान्दा प्रतिनिधिसभा १५ दिनदेखि अवरुद्ध छ । भिजिट भिसा ठगीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमनमा छापा मारेपछि विपक्षी दलहरूले संसदीय वा उच्चस्तरीय छानबिन समितिको मागसहित १३ जेठदेखि संसद् अवरुद्ध गर्दै आएका हुन् ।

गृहमन्त्री रमेश लेखकले पठाएका अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई र गृहमन्त्रीका सचिवालयका कर्मचारी पनि अख्तियारको अनुसन्धानमा तानिएपछि संसद पनि तरंगित भएको हो । गृहमन्त्रीको राजीनामा माग गर्दै आएका विपक्षी माओवादी, रास्वपा, एकीकृत समाजवादी, राप्रपासहितका दलहरूले संसदीय वा उच्चस्तरीय छानबिन हुनुपर्ने बताइरहेका हुन् । तर, सत्तारुढ कांग्रेस र एमाले भने अख्तियारले अनुसन्धान गरिरहेको भन्दै पन्छाइरहेका छन् ।

विपक्षी दलहरूको बुधबारको बैठकले अख्तियारको छानबिन हस्तक्षेप नहुने गरी उच्चस्तरीय छानबिन समिति बनाउने पाँचबुँदे मस्यौदामा सत्ता पक्षको धारणा माग्ने समझदारी बनेको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले बताए । तर, सत्ता पक्षले पाँचबुँदे नमान्ने बताएको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जनाए । सत्ता पक्षबाट अख्तियारको छानबिनलाई सहयोग गर्ने र समग्र अध्ययन गर्न छानबिन सकिएपछि आवश्यक संयन्त्र बनाउन, दुईबुँदे मस्यौदालाई अगाडि बढाउनुपर्ने जोड छ ।

दुवै पक्षबिच बुधबार कुरा नमिलेपछि विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पर्खिने सहमतिअनुसार प्रतिनिधिसभा बैठक बिहीबार तीन बजेसम्मका लागि सारिएको छ । कांग्रेस नेता रामहरि खतिवडाका अनुसार विपक्षी दलका नेता प्रचण्ड मुस्ताङबाट बिहीबार फर्किएपछि विपक्षी मोर्चामा सहमति खोज्ने समझदारी तीन दलको बैठकमा भएको छ । एमाले मुख्य सचेतक महेश बर्ताैलाले संसद्को गतिरोध अन्त्य गरेर प्रभावकारिता हासिल गर्ने सन्दर्भमा कांग्रेस, एमाले, माओवादी एक ठाउँमा रहेको दाबी गरे । ‘प्रमुख विपक्षीको सल्लाहबमोजिम समझदारीको वातावरण बनाउने प्रयास छ । प्रचण्डज्यू फर्किएर विपक्षीसँग थप छलफल गर्नुहुन्छ । सकेसम्म प्रतिपक्षी एक ठाउँमा उभिएर हाउस चलाउने प्रयास प्रमुख प्रतिपक्षी तहबाट हुन्छ । माओवादीकै सरसल्लाहबमोजिम बैठक बिहीबार तीन बजेसम्म पु¥याइएको हो,’ उनले भने ।

माओवादी, एमाले कांग्रेसका बिचमा छलफल भएको र अरू दलसँग आवश्यक नरहेको उनको भनाइ छ ।

सभामुख देवराज घिमिरेले संसद्को नियमित कारबाही अवरुद्ध भइरहेको दुई हप्ताभन्दा बढी भइसकेको भन्दै गतिरोध अन्त्यको वातावरण बनाउन अपिल गरेका छन् । कार्यव्यवस्था तथा परामर्श समितिले तय गरेको क्यालेन्डरअनुसार २० जेठदेखि बजेटमा छलफल गर्ने र ५ असारमा पारित गर्ने कार्यसूची छ । आठ दिन बितिसक्दा पनि गतिरोधले छलफल प्रारम्भ हुन सकेको छैन । यसबिचमा तय भएका प्रतिनिधिसभाका २०, २१, २२, २३, २५, २६, २८ गतेका बैठक चल्न सकेका छैनन् । बुधबार एक बजे बोलाइएको प्रतिनिधिसभा बैठक सुरुमा सूचना टाँसेर ३ः१५ सम्म सारिएको थियो । सहमति नजुटे पनि सभामुखले तीन बजे चलाएको बैठकमा विपक्षीले नाराबाजी गरेका थिए । १७ मिनेटको रस्साकस्सीपछि बैठक बिहीबार दिउँसो तीन बजेसम्मका लागि स्थगित गरिएको छ ।
 

See More On

सुझावित समाचार