ओपनर क्विन्टन डी ककले नटआउट ९७ रन बनाएपछि कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई आठ विकेटले हराएको छ । गुवाहाटीमा बुधबार भएको प्रतिस्पर्धामा पहिलो ब्याटिङ गरेको राजस्थानले २० ओभरमा नौ विकेट गुमाएर १५१ रन बनाएको थियो । प्रत्युत्तरमा कोलकाताले १७.३ ओभरमा दुई विकेटको
क्षतिमा १५३ रन बनायो ।
चालू आइपिएलमा कोलकाताले पहिलो जित निकालेको हो । राजस्थानले दुवै खेल गुमाएको छ । अंगक्रिस रघुवंशी र डी ककबिच तेस्रो विकेटका लागि ४४ बलमा ८३ रनको साझेदारी भएको थियो । डी ककले ६१ बलमा आठ चौका र ६ छक्का प्रहार गरे । रघुवंशीले १७ बलमा २२ रनको योगदान दिए । डी कक शतकीय इनिङ्स खेल्न ३ रनले पछि परे ।
यसअघि पहिलो ब्याटिङ गरेको राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ३३ रनको योगदान दिएका थिए । उनले २८ बलमा पाँच चौका प्रहार गरे । कोलकाताको कसिलो बलिङसामु राजस्थानले गतिलो ब्याटिङ गर्न सकेन । ६ खेलाडीले दोहोरो अंकमा रनै बनाएनन् । ओपनर यशस्वी जसैवालले २४ बलमा २९ रन बनाउन समान दुई चौका र छक्का प्रहार गरे ।
सञ्जु सामसनले ११ बलमा १३ रन जोडी पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । कप्तान रियान परागले १५ बलमा तीन छक्काको सहयोगमा २५ रन जोडे । बलिङमा कोलकाताका लागि वैभव अरोरा, हर्षित राना, मोइन अली तथा वरुण चक्रवर्तीले समान दुई विकेट लिए ।