समान सुविधा माग गर्दैै आन्दोलनमा उत्रिए माथिल्लो तामाकोशीका जिल्लावासी कर्मचारी ,माग पूरा नहुन्जेल आन्दोलन जारी राख्ने

आइतबार, ९ चैत, २०८१
डिजिटल संस्करण

माथिल्लो तामाकोशी आयोजनामा कार्यरत कर्मचारीलाई सुविधा वितरणमा विभेद गरेको भन्दै जिल्लावासी कर्मचारीले आजबाट आन्दोलन सुरु  गरेका छन्।आयोजनामा कार्यरत कर्मचारीहरूमध्ये दोलखावासी कर्मचारी र बाहिरी जिल्लाका कर्मचारीलाई दिइने अतिरिक्त सुविधामा विभेद भएको भन्दै जिल्लावासी कर्मचारीले आन्दोलन सुरु गरेका हुन् ।

माथिल्लो तामाकोशी आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले यसअघि आयोजनामा कार्यरत कर्मचारीहरूमध्ये दोलखावासी कर्मचारीलाई ५० प्रतिशत र बाहिरी जिल्लाका कर्मचारीलाई ७५ प्रतिशत अतिरिक्त भत्ता उपलब्ध गराउँदै आएकोमा जिल्लावासी कर्मचारीले आफूहरूलाई विभेद गरेको भन्दै आन्दोलनको घोषणासहित आयोजनालाई अल्टिमेटम दिएका थिए ।  तर, आयोजनाले उक्त अवधिभित्र उनीहरूका माग सम्बोधन गर्न नसकेपछि आजबाट दोलखा जिल्लावासी कर्मचारी काम छोडेर संघर्षमा उत्रिएका छन् ।  उनीहरूले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै आइतबारसम्म आफूहरूको माग सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका थिए । 

दोलखा जिल्लावासी करार कर्मचारी संघर्ष समितिका संयोजक रामबहादुर खड्काले तोकिएको अवधिभित्र आयोजनाको व्यवस्थापनले माग सम्बोधन नगरेपछि आन्दोलनमा उत्रिन बाध्य भएको जानकारी दिए ।  उनीहरूले निर्धारित कार्यक्रमअनुसार आज आइतबार  शान्तिपूर्ण धर्ना र विरोध सभा गरिरहेका छन् । संयोजक खड्काका अनुसार भोलिबाट क्रमशः कम्पनीको सवारीसाधन सञ्चालनमा रोक लगाउने र गोंगरस्थित कम्पनीको कार्यालयका कामकाज ठप्प पार्नेजस्ता कार्यक्रम छन् ।

आयोजनाको सबै संरचनामा कार्यरत कर्मचारीहरू गोंगरस्थित मुख्य कार्यालयअगाडि जम्मा भएर नारा–जुलुससहित विरोध सभामा जुटिरहेका छन् । गत भदौ अन्तिम साता पनि आन्दोलनमा उत्रिएका कर्मचारी र आयोजनाको व्यवस्थापन पक्षबिच माघ मसान्तभित्र अतिरिक्त सुविधा समान गर्ने सहमतिपछि आन्दोलन फिर्ता भएको थियो । 

संघर्ष समितिका संयोजक खड्काले त्यसवेला दोलखा जिल्लावासी र जिल्लाबाहिरका कर्मचारीका सेवा–सुविधाबिचको अन्तर कम्पनी सञ्चालक समितिमा पेस गरेर ०८१ माघभित्र हल गर्ने सहमति भए पनि सम्झौतामा उल्लेख भएको अवधि पूरा भई दुई महिना बितिसक्दासमेत आयोजनाले आफूहरूको मागबारे कुनै निकास ननिकालेपछि आन्दोलन गर्नुको विकल्प नभएको बताए ।

त्यसवेला भएको सहमतिपत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहन गौतम र उपनिर्देशक तथा कम्पनीसचिव सुरेशराज खकुरेल, आन्दोलनरत कर्मचारीका तर्फबाट रामबहादुर खड्का, सुनतारा तामाङ र नवराज खड्काले हस्ताक्षर गरेका थिए । कम्पनीमा कार्यरत झन्डै २२३ जना करार कर्मचारीमध्ये दोलखाका १०१ जना कर्मचारी छन् । माग पूरा गर्न प्रतिबद्ध छौँ- आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले दोलखावासी कर्मचारीको माग सम्बोधन हुने विश्वास दिलाउँदै तत्काल आन्दोलनको बाटो नरोज्न आग्रह गरेका छन् ।

गौतमले तत्काललाई आयोजनाले ठुलो विपत्तिको सामना गर्नुपरेको, झन्डै तीन महिना आयोजना बन्द हुँदा ठुलो आर्थिक क्षति भएको र कम्पनी घाटामा रहेको जनाउँदै केही समय पर्खिन आग्रह गरेका छन् । उनले माघदेखि कम्पनीको सञ्चालक समिति बैठकसमेत बस्न नसकेको सुनाउँदै अब हुने सञ्चालक समिति बैठकमा प्रस्ताव लैजाने र निर्णयार्थ पेस गर्ने जानकारी दिए । नयाँ पत्रिकासँग कुरा गर्दै गौतमले भने, ‘आगामी सञ्चालक समिति बैठकमा प्रस्ताव लगिनेछ, तर समितिले आयोजनाको यो अवस्था हुँदा उक्त निर्णय तुरुन्तै कार्यान्वयन गर्न त्यति सहज छैन ।’ त्यसैले केही समय प्रतीक्षा गर्नु नै राम्रो हुन्छ उनले भने । 

आयोजनाको काम पूरा भएपछि ०७८ साल भदौपछि कम्पनी सञ्चालक समिति बैठकबाट आयोजनामा कार्यरत दोलखाली कर्मचारीलाई ५० प्रतिशत र अन्य जिल्लाका कर्मचारीलाई ७५ प्रतिशत मात्रै सुविधा उपलब्ध गराउने निर्णय गरी कार्यान्वयन थालेको थियाे । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले दोलखाको बिगु गाउँपालिका– १ लामाबगरमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरिरहेको छ ।

आयोजनामा गएको असोज ११ गतेको बाढीपहिरोले ठुलो क्षति गरेको थियो , पहिरोले आयोजनाको बाँधस्थलमा रहेको नियन्त्रण कक्ष पुरिँदा चारजनाको ज्यान गएको थियो भने करोडौँको क्षति भएको थियो । 

सुझावित समाचार