बाढीले बगाएको झोलुंगे पुल अझै निर्माण भएन, स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य

बिहिबार, ६ चैत, २०८१
डिजिटल संस्करण

सुनकोशी नदीमा रहेका झोलुंगे पुल गत असोज महिनाको ११ र १२ गते आएको बाढीले क्षति पुर्याएपछि उक्त पुल मर्मत र पुनर्निर्माण नहुँदा सो पुलमार्फत आवतजावत गर्ने नागरिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। बाढीले रामेछाप र सिन्धुली जिल्लाको सीमा भएर बग्ने सुनकोशी नदीमा नेपालथोकदेखि कोलञ्जोर घाटसम्म रहेका ११ वटा झोलुंगे पुललाई क्षति पुर्याएको थियो। वर्षामा क्षति पुगेका ती पुलहरू अझै मर्मतसम्भार हुन सकेका छैनन्। पुल मर्मत सम्भार नहुँदा ती पुल हुँदै आवतजावत गर्ने सयौँ नागरिक मारमा परेका हुन्। 

केही पुल पूर्ण रूपमा बाढीले बगाए पनि केही पुलमा क्षति पुर्याएको थियो । ती क्षति पुुगेका जोखिम अवस्थामा रहेका केही झोलुंगे पुलमा झुन्डिँदै विद्यार्थी, वृद्धवृद्धा र बिरामीहरु वारपार गर्न बाध्य छन् । केही पुलहरूमा स्थानीय गाउँपालिकाहरूले फल्याक र बाँसको प्रयोग गरेर अस्थायी रूपमा आवतजावत खुलाएका भए तापनि ती पुलमा यात्रा गर्दा निकै जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता रहेको खाँडादेवी गाउँपालिका– १ राकाथुुमका शेरबहादुर माझीले जानकारी दिए । 

सिन्धुलीको झाँगाझोली र रामेछापको खाँडादेवी गाउँपालिकाको राकाथुम जोड्न सुनकोशी नदीमा निर्माण भएको पुलबाट दैनिक २० जना बालबालिका रामेछापबाट सिन्धुलीको झाँगाझोलीमा रहेको गुठबजार माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने गरेका छन् । उनीहरू अध्ययन गर्ने जाने अर्को वैकल्पिक बाटो नहुँदा जोखिम मोलेर नै यात्रा गर्न बाध्य छन् । 

बाढीले खुर्कोट र सित्खाको पुल बगाएको थियो भने अन्य पुलमा धेरै ठूलो क्षति गरेको थियो। जसमध्ये सिन्धुलीको चैनपुर र रामेछापको पुछिघाट जोड्ने पुलमा सबैभन्दा धेरै क्षति भएको छ। स्थानीय गाउँपालिकाले उक्त पुल मर्मत गर्न सक्ने अवस्था नभएपछि पुल मर्मत र निर्माणका लागि माथिल्लो निकायमा पत्राचार गरिएको खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङले जानकारी दिइन् । 

सुनकोशी नदीमा क्षति पुगेका पुलहरूको मर्मत सुधार तथा पुननिर्माणका लागि सहरी विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास विभागले मर्मतका लागि लाग्ने बजेट तयार गरी अर्थ मन्त्रालयमा माग गरेको र रकम बजेट प्राप्त भएपछि क्षतिग्रस्त झोलुंगे पुल दुई चरणमा पुनर्निर्माणको काम गर्ने गरी योजना अघि सारिएको पूर्वाधार विकास विभागका महानिर्देशक महेशचन्द्र न्यौपानेले जानकारी दिए । 

सुझावित समाचार