जिल्लाकै सबैभन्दा पुरानो क्याम्पस रेसुंगा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले सुदीप खत्रीको नेतृत्वमा नयाँ समिति पाएको छ। शनिबार नेविसंघका खत्रीको अध्यक्षतामा १५ सदस्य रहेको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको क्याम्पसका निर्वाचन अधिकृत गोपालप्रसाद पाण्डेले जानकारी दिए।
रेसुंगा बहुमुखी क्याम्पसमा कांग्रेसनिकट नेविसंघ, एमालेनिकट अनेरास्ववियु र माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी)ले सर्वसम्मत रूपमा स्ववियुको नयाँ नेतृत्व चयन गरेका हुन्। समितिको उपाध्यक्षमा अनेरास्ववियुको तर्फबाट विनिता कार्की, सचिवमा अनेरास्ववियुका निशान टन्डन, सह–सचिवमा पनि अनेरास्ववियुकै मुनाल अधिकारी तथा कोषाध्यक्षमा नेविसंघका विश्वास बञ्जाडे निर्वाचित भएका छन्।
यसैगरी, सदस्यहरूमा अनेरास्ववियु (क्रान्तिकारी)का प्रियंका पन्थी, सागर सुनार, अमृता विश्वकर्मा, अनेरास्ववियुबाट अस्मिता सदा, सन्तोष भण्डारी, तथा नेविसंघबाट सुशील पन्थी, अनिता पाण्डे, खुमबहादुर खत्री, सुस्मा पन्थी र विशाल पाण्डे निर्वाचित भएको निर्वाचन अधिकृत पाण्डेयले बताए।
जिल्लामा स्ववियु निर्वाचन हुने ११ क्याम्पस छन् । जिल्लाभरका क्याम्पसमा चुनावी तालमेल गर्ने नेविसंघ र अनेरास्ववियुबिच सहमति भइसकेको छ ।
पाँच क्याम्पसमा सर्वसम्मत
रेसुंगा बहुमुखी क्याम्पससहित पाँच क्याम्पसमा भने अनेरास्ववियू (क्रान्तिकारी) समेतको सहमतिमा सर्वसम्मत नेतृत्व चयन भएको छ। अहिलेसम्म रेसुंगासहित नेविसंघबाट चन्द्रकोट बहुमुखी क्याम्पसमा प्रदिप नेपाली, जनज्योति क्याम्पसमा गंगा पन्थी, सत्यवति बहुमुखी क्याम्पसमा जमुना ज्ञवाली सभापतिमा निर्वाचित भएका छन् । दिगाम आदर्श बहुमुखी क्याम्पसमा अनेरास्वबियुको तर्फबाट उषा ज्ञवालीले सभापतिको नेतृत्व गरेको नेविसंघ केन्द्रीय सदस्य झविन्द्र पाण्डेयले जानकारी दिए ।