पर्साबाट सशस्त्र प्रहरीले ५८ लाख ६४ हजार ८३० रुपैयाँबराबरको हिरा र सुनको गरगहना बरामद गरेको छ।
वीरगन्ज महानगरपालिका–१६ स्थित सीमा इलाकाबाट शनिबार राति सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले भन्सार छलीका गरगहना बरामद गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको कारलाई चेकजाँच गर्ने क्रममा प्लास्टिकमा प्याक गरिएको शंकास्पद वस्तु फेला परेको थियो। सो क्रममा थप खानतलासी गर्ने क्रममा ड्राइभरले कारलाई भगाएका थिए। सामान छाडी कार र व्यक्ति फरार भएपछि बरामद गहना थप प्रमाणित गर्न आइतबार पर्सास्थित सुनचाँदी व्यवसायी संघमा पठाइएको थियो। सो गरगहनामा २२ लाख ५१ हजार ८४० रुपैयाँबराबरको ७०.३७ क्यारेट हिरा र ३६ लाख १२ हजार ९९० रुपैयाँबराबरको २४६.७३ ग्राम सुन रहेको परीक्षणमा खुलेको छ।
बरामद गहना आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।