मध्यविन्दु बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी

पाँचवटा कलेजमा संगठन दर्ता, जनज्योति कलेजमा आज तालिका प्रकाशन हुँदै

बिहिबार, २२ फागुन, २०८१
डिजिटल संस्करण

तीनवटा विद्यार्थी संगठनले स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गर्दा मध्यविन्दु क्याम्पसमा संगठन दर्ता गर्ने कार्यक्रम प्रभावित भएको छ । पब्लिक क्याम्पस संघले मंगलबार सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज संघ संगठन दर्ता गर्ने कार्यक्रम रहेको थियो ।

अनेरास्ववियुबाहेक अन्य विद्यार्थी संगठनले विद्यार्थीको नामावली सार्वजनिक गर्दा नाम ठेगाना र मोबाइल नम्बरसहित सार्वजनिक गर्नुपर्ने माग राखेको भए पनि निर्वाचन समिति उक्त कुरामा सहमत नहुँदा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी र नेकपा एसनिकट अनेरास्ववियुले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

आफूहरूले माग गरेअनुसारको विद्यार्थीको नाम नम्बर र ठेगाना उपलब्ध गराउन नसकिने भन्दै निर्वाचन समितिले जवाफ दिएपछि बुधबार निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको नेविसंघ केन्द्रीय सदस्य खिमलाल कँडेल (विक्रम) ले जानकारी बताए ।

तालाबन्दीपछि प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनहरूले विद्यार्थीको नामावली प्रकाशित गर्दा नाम ठेगाना मोबाइल नम्बरसहित प्रकाशित गर्नुपर्ने बताएका छन्। विद्यार्थी संगठनहरूले राखेको माग पूरा नगरिए थप आन्दोलनको कार्यक्रम अगाडि बढाइने विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित कार्यातालिकाअनुसार संसंगठन दर्ताका लागि हिजो ३ बजेसम्मको समय रहेको थियो । विद्यार्थी संघसंगठनहरूसँग आफूले अनौपचारिक छलफल गरिरहेको र छलफलबाट नै निकास निकालेर निर्वाचन प्रक्रिया अगाडि बढाउने क्याम्पस प्रमुख गणेशमान गिरीले बताए । क्याम्पस प्रमुख गिरीका अनुसार विद्यार्थीको नामावली सार्वजनिक गर्दा तह, संकाय र सेमेस्टरअनुसार प्रकाशित गरिने कार्यविधि रहेको छ । विद्यार्थी संघ संगठनले मागेअनुसार मोबाइल नम्बर ठेगाना भने दिन नसकिने उनकाे भनाइ थियो । मध्यविन्दु कलेज प्रशासन र विद्यार्थी संगठनिच हिजो अनौपचारिक छलफल भए पनि सहमतिमा पुग्न नसकेको नेविसंघ नवलपुरका सभापति हरि सुवेदीले बताए ।

नवलपुरका ६ वटा पुरानो र नयाँ थप एक गरी सातवटा क्याम्पसमा स्ववियु निर्वाचन हुने भएको हो । जसमध्ये बुधबार कुमारवर्ती बहुमुखी क्याम्पसलगायतका चारवटा क्याम्पसमा विद्यार्थीहरूले  संगठन दर्ता गराएका छन् । त्यसैगरी रजहरको देवचुली कलेजमा पनि चारवटा विद्यार्थी संघ–संगठनले नाम दर्ता गराएका छन् ।

त्यसैगरी, देवचुली कलेज, एसपिएम कलेज गैँडाकोट, जनमुखी आदर्श कलेज १६ नम्बर, अरुणखोला कलेज अरुणखोलामा विद्यार्थी संघ–संगठनले स्ववियु निर्वाचनका लागि नाम दर्ता गराएका छन् भने आज बिहीबार जनज्योति कलेज प्रगतिनगरमा निर्वाचिन गर्ने विद्यार्थी संगठनहरूबिच सहमति भएको नेविसंघ नवलपुरका सभापति हरि सुवेदीले बताए । यहाँ आज तालिका प्रकाशन हुने जनाइएको छ ।
 

सुझावित समाचार