नेमारले विश्वकप छनोट खेल गुमाउने

मंगलबार, २० फागुन, २०८१
डिजिटल संस्करण
  • क्याम्पियानाटो च्याम्पियनसिपको क्वार्टरफाइनलमा घाइते भएपछि स्ट्राइकर नेमार दक्षिण अमेरिकी विश्वकपका आगामी छनोट खेलमा ब्राजिलियन टोलीमा उपलब्ध नहुने 

ब्राजिलियन स्ट्राइकर नेमार जुनियर फेरि घाइते भएका छन् । घरेलु क्लब सान्तोसबाट खेल्ने क्रममा नेमार सोमबार ब्रागान्टिनोसँगको खेलमा घाइते भएका हुन् । खेलको ७६औँ मिनेटमा नेमार मैदानमा विपक्षी खेलाडीसँग जुधेपछि घाइते भएका हुन् । सुरुमा प्रतिस्पर्धा गर्न हिम्मत देखाए पनि राम्रोसँग हिँड्न नसक्ने भएपछि उनी निराश हुँदै मैदानबाट बाहिरिए । उनको स्थानमा ग्राबिएल फेरोन मैदानमा प्रवेश गरे । नेमार मैदानबाट बाहिरिनुअघि सान्तोसले २–० को अग्रता लिएको थियो । 

चिकित्सकहरूले उनको बायाँ खुट्टामा ह्यामस्ट्रिङ भएको जनाएका छन् । चोट निको हुन समय लाग्ने चिकित्सकहरूले बताए । चोटका कारण नेमारको राष्ट्रिय टोलीमा पुनरागमन हुने सम्भावना कमजोर बनेको छ । सन् २०२४ को अक्टोबरदेखि उनी ब्राजिलको राष्ट्रिय टोलीबाट बाहिर छन् । प्रशिक्षक डोरिभाल जुनियरले नेमार शतप्रतिशत फिट नभएको भन्दै टोलीबाट बाहिर राख्दै आइहरेका छन् । 

नवौँ मिनेटमा उत्कृष्ट फ्रिकिक गोल
क्याम्पियोनाटो पाउलिस्टाको क्वार्टरफाइनलमा उनले नवौँ मिनेटमा उत्कृष्ट फ्रिकिक गोल गरेका थिए । नेमारको उत्कृष्ट प्रदर्शनसँगै सान्तोस प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । तर, घुँडाको चोटका कारण उनले खेलमा निरन्तरता दिन सकेनन् । यसै सिजनमा साउदी प्रो लिग छाडेर उनी ब्राजिलियन क्लब सान्तोसमा अनुबन्ध भएका हुन् । सान्तोस आएपछि उनको प्रदर्शन अब्बल रहँदै थियो । उनले पछिल्ला चार खेलमा तीन गोल गरेका थिए । यसै प्रदर्शनका कारण नेमारले ब्राजिलियन टोलीमा फर्कने सम्भावना देखेका थिए । तर, चोटले उनको पुनरागमनको ढिला हुने देखिएको छ । 

ब्राजिलियन एजेन्सीहरूले फिफा विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोटका अगामी सबैजसो खेल नेमारले गुमाउने जनाएका छन् । क्याम्पियोनाटो पाउलिस्टा ब्राजिलको साओ पाउलो राज्यका टिमबिच प्रतिस्पर्धा हुने प्रतियोगिता हो । सान्तोसले अब सेमिफाइनलमा साओ पाउलो एफसी र नोभोहोरीजन्टिनोबिचको विजेतासँग खेल्नेछ ।

See More On

सुझावित समाचार