पढाइरहेका वेला पिसाब फेर्न जान्छु भनेपछि विद्यार्थीमाथि निर्घात कुटपिट

सोमबार, १२ फागुन, २०८१
डिजिटल संस्करण

पढाइरहेको वेला एक विद्यार्थीले पिसाब फेर्न शौचालय जान्छु भनेपछि गण्डकी एकेडेमीका शिक्षकले निर्घात कुटपिट गरेका छन् । ती शिक्षकले विद्यार्थीलाई शौचालय जानसमेत नदिएर शरीरमा नीलडाम हुने गरी कुटपिट गरेका छन् । पोखरा महानगरपालिका– ६ जहरेवरस्थित गण्डकी एकेडेमीका गणित शिक्षक विपिन कार्कीले ६ कक्षामा अध्ययनरत एक छात्रलाई गत मंगलबार कुटपिट गरेका हुन् ।

घटना ६ फागुनको भए पनि आइतबार मात्रै सार्वजनिक भएको हो । घटनापछि विद्यालयले शिक्षक कार्कीलाई बर्खास्त गरेको जनाएको छ । घटनालगत्तै प्रहरीले विद्यार्थी कुट्ने शिक्षक कार्कीलाई नियन्त्रण लिएको थियो । तर, अभिभावकले लिखित उजुरी नदिएपछि तीन दिनपछि छाडेको छ । वडा प्रहरी कार्यालय पोखरा– ६ बैदामका प्रमुख डिएसपी सन्तोष निरौलाले घटनालगत्तै विद्यालयमै गएर शिक्षकलाई नियन्त्रणमा लिएको र भोलिपल्ट सार्वजनिक बिदा भएका कारण थुनुवा पुर्जी दिएर हिरासतमा राखेको बताए । अभिभावकलाई बोलाएर उजुरी दिन आग्रह गरे पनि उजुरी नदिएको उनले बताए । डिएसपी निरौलाले भने, ‘अभिभावकसँग उजुरी दिन पटक–पटक अनुरोध गर्यौँ, तर उजुरी दिन नमानेपछि तेस्रो दिन अभिभावकको जिम्मा लगाएर शिक्षकलाई छाड्न बाध्य भयौँ ।’

विद्यालयका प्रधानाध्यापक शिवराज पौडेलले घटनापछि अभिभावक र विद्यालयबिच कुरा मिलिसकेको बताए । पौडेलले भने, ‘विद्यार्थीको उपचारमा लागेको सबै खर्च विद्यालयले व्यहोरेको छ । विद्यालय र पीडित विद्यार्थीका अभिभावकबिचको सम्बन्ध एकदम राम्रो छ । सबै कुरा मिलिसक्यो, अब केही समस्या छैन ।’ घटनापछि अभिभावकले शिक्षकविरुद्ध विद्यालयमा उजुरी दिए पनि विद्यालयको दबाबका कारण प्रहरीमा उजुरी नदिएको स्रोतको भनाइ छ ।

See More On

सुझावित समाचार