चितुवाको आक्रमणबाट बालकको मृत्यु

आइतबार, ४ फागुन, २०८१
डिजिटल संस्करण

बर्दियामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। मधुवन नगरपालिका– ९  भाट चोकमा साँझ करिब आठ बजे घरको आँगनमा खेलिरहेका दुई वर्षीय रिहान चलाउनेलाई  चितुवाले आक्रमण गर्दा उनको मृत्यु भएको हो।  

राप्तीसोनारी गाउँपालिका– ५ घर भएका चलाउने सानीआमाको घरमा आएका थिए । शनिबार साँझ करिब आठ बजेको समयमा आँगनमा खेलिरहेका चलाउनेलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाले आक्रमण गर्दा बालकको घाँटी र टाउकोको पछाडिको भागमा घाउ भएको प्रहरीले जनाएको छ।

आँगनमा खेलिरहेको बालक एक्कासि हराएपछि घरपरिवारले हारगुहार गरेका थिए । स्थानीयवासी, प्रहरी र सशस्त्र प्रहरीले तत्काल खोजी गर्दा घरदेखि पाँच सय मिटर दक्षिण पूर्व खेतमा ९ः१५ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ऋषिराम घर्तीमगरले बताए। 

रिहानको आमा रचना चलाउने सानीआमाको घरमा छोरा लिएर आएकी थिइन्। गत माघ २५ चितुवाले आक्रमण गर्दा सोही स्थानमा नजिककै ५१ वर्षीय जुनाकुमारी लामिछानेको मृत्यु भएको थियो। चितुवाले आक्रमण गरेको स्थानदेखि करिब  सात सय मिटरको दूरीमा कर्तनियाघाट वन्यजन्तु आरक्षणको जंगल रहेको छ।

सुझावित समाचार