कुस्मामा सुरु भयो ‘ट्यान्डम बन्जी’ र ‘मेगाट्रोल’

शुक्रबार, २ फागुन, २०८१
डिजिटल संस्करण

भ्यालेन्टाइन्स डेको अवसर पारेर ‘द क्लिफ’ले कुस्मामा ट्यान्डम (दुईजना सँगै खेल्ने) बन्जी र मेगाट्रोल सञ्चालनमा ल्याएको छ। स्विङ गर्न जोडीले नै मिल्ने सुविधा पहिले नै भए पनि बन्जीमा भने नयाँ सुरुवात गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए।

‘अब पर्यटकहरूले आफूले चाहेको व्यक्तिसँग अंगालो मारेर बन्जी गर्न सक्नुहुन्छ,’ कार्कीले भने, ‘यसले डर कम गराएर आत्मविश्वास बढाउने र थप आत्मीय अनुभव गराउनेछ।’ ट्यान्डम बन्जीको साढे १३ हजार शुल्क तोकिएको छ। यदि फोटो, भिडियो र दुईवटा बन्जी टिसर्ट लिन चाहेमा थप दुई हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ।

२५५ मिटर अग्लो मेगाट्रोलको लम्बाइ १२२८ मिटर छ। यसमा एकैपटकमा तीनजनासम्म खेल्न सकिन्छ। एक्लै वा जोडीसँगै पनि खेल्न सकिने मेगाट्रोलको गति प्रतिघण्टा १४० किलोमिटरको हुनेछ।

मेगाट्रोल खेल्न प्रतिव्यक्ति चार हजार रुपैयाँ लाग्ने कार्कीले बताए । ट्यान्डम (जोडी) खेल्दा सात हजार रुपैयाँ र तीनजना खेल्दा साढे नौ हजार लाग्नेछ। यदि टिसर्ट र भिडियो लिएमा थप रकम तिर्नुपर्ने हुन्छ। ‘मेगाट्रोल पनि साहसिक गतिविधिमै पर्छ, यसले जिपलाइन र रोलरकोस्टरको ब्लेन्डेड अनुभव दिन्छ,’ उनले भने, ‘एक वर्षअघि निर्माण सुरु गरिएको मेगाट्रोल भ्यालेन्टाइन्स डेको मौका पारेर सुरु गरेका छौँ।’

द क्लिफले प्रेमिल महिना फेब्रुअरीमा एड्भेन्चरतर्फ ट्यान्डम स्विङ, स्काई साइकल, स्काई क्याफे र रिसोर्टतर्फ कटेज रुममा २० प्रतिशत छुट उपलब्ध गराएको जनाएको छ।

सुझावित समाचार