उपप्राध्यापक र कर्मचारीले गरे मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी

शुक्रबार, २ फागुन, २०८१
डिजिटल संस्करण

६ महिनादेखि तलबभत्ता नपाएको भन्दै उपप्राध्यापक र कर्मचारीले तालाबन्दी गरेपछि मधेश कृषि विश्वविद्यालयमा चारवर्षे कृषि स्नातकमा अध्ययनरत सयजना विद्यार्थीको पढाइ प्रभावित बनेको छ । राजविराजमा रहेको विश्वविद्यालयको प्रशासनिक भवनमा उपकुलपति डा. वैद्यनाथ महतोलाई बाहिर निकालेर उपप्राध्यापक र कर्मचारीले बिहीबार बिहान तालाबन्दी गरेका हुन् । 

उपकुलपति, रजिस्ट्रार, प्रशासन शाखा, प्रशासनिक भवनको मूलगेट तथा शैक्षिक भवनमा तालाबन्दी गरिएको हो । विश्वविद्यालयमा कार्यरत उपप्राध्यापक तथा कर्मचारीले क्षतिपूर्तिसहित नियमावलीअनुसारको तलबभत्ता तथा अन्य सुविधा पाउनुपर्ने माग राखेका छन् ।

गत भदौदेखि हालसम्मको तलबभत्ता नपाएको गुनासो उनीहरूको छ । विश्वविद्यालयका सहकुलपति एवं प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीलाई पटक–पटक ज्ञापनपत्र दिँदा पनि सुनुवाइ नभएकाले तालाबन्दी गर्नुपरेको उनीहरूको भनाइ छ । ‘चरम आर्थिक संकटमा परेपछि हामीसँग अब अर्को विकल्प रहेन,’ उपप्राध्यापक यादवले भने, ‘सामान्य रूपमा गर्नुपर्ने आग्रह र अनुरोध सबै गर्यौँ । कतैबाट सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य हुनुपर्यो ।’

विश्वविद्यालयको सभाबाट नीति तथा कार्यक्रम पास हुन नसकेको, लालबाबु राउत नेतृत्वको सरकारले नियुक्त गरेका रजिस्ट्रारबाट वर्तमान सरकारले आर्थिक कारोबार खोजेर छानबिन थालेपछि पछिल्लो समय विश्वविद्यालयको आर्थिक कारोबार बन्द छ ।
 

सुझावित समाचार