इलोन मस्कले डोनाल्ड ट्रम्पको समर्थनमा अमेरिकी सरकारमा आफ्नो प्रभाव व्यापकस्तरमा बढाइरहेका छन् । उनले सरकारी कार्यक्षमता सम्बन्धित विभाग डिओजिईमार्फत संघीय कर्मचारी कटौती गर्ने अभियान अघि बढाएका छन् । नयाँ कार्यकारी आदेशले अब अमेरिकी निकायलाई इलोनको प्रयासमा सहयोग गर्न बाध्य बनाउँछ । ‘सरकारी नियन्त्रण प्रयास’को आरोपप्रति उनले ‘जनताले व्यापक सरकारी सुधारका पक्षमा मतदान गरेका छन् र उनीहरूको अपेक्षा पूरा हुनेछ’ भन्दै आफ्नो भूमिकाको बचाउ गरेका छन् ।
के मस्कका कार्य सरकारको ‘शत्रुतापूर्ण कब्जा’ वा ‘कु’ हो ? मेरो विचारमा यो ‘राज्य कब्जा’को एक रूप हो । सरकारी प्रभावकारिता र उत्पादकत्व बढाउने नाममा डिओजिईले उल्लेख्य शक्ति हासिल गरेको छ । यसले निम्नानुसार अख्तियारी प्रदर्शन गरेको छ:
१. सरकारले सम्बन्धित प्रायः सबै भुक्तानीका लागि जिम्मेवार विशाल प्रणालीमा प्रवेश पाएको छ । २. संवेदनशील डाटाबेस र निजी चिकित्सा अभिलेख उल्लंघन गरेको छ । ३. स्वार्थको टकराव र पारदर्शितासम्बन्धी नियमित आवश्यकतालाई बेवास्ता गरेको छ । ४.अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएड) विघटन भएको छ । ५. विभिन्न संघीय निकायका कम्प्युटर प्रणालीमा पहुँच प्राप्त गरेको छ ।
सम्भवतः संघीय कानुन उल्लंघन गरेर मस्कले तीव्रतासाथ वर्चस्व स्थापना गर्नु अन्योल र बहसको कारण बनेको छ । केहीले यसलाई लोकतन्त्र र मानव अधिकार कमजोर पार्ने नियतले भौतिक सत्ताकेन्द्र कब्जाविनै डिजिटल पूर्वाधार नियन्त्रण गरी ‘कु’ गरेको ठान्छन् ।
मस्कको प्रभावलाई आत्म–कु भनेर पनि व्याख्या गरिन्छ । आत्म–कु हुँदा सत्तामा रहेका नेताले आफ्नो शक्तिलाई निरन्तर कायम राख्न विपक्षी संस्था र उच्चपदस्थ व्यक्तिमाथि अवैध कदम चाल्छन् । डिसेम्बरमा दक्षिण कोरियाली राष्ट्रपति युन सुक येलले विपक्षी शक्तिबाट देशलाई जोगाउने भन्दै मार्सल कानुन घोषणा गरे । तर, उच्चपदस्थ अधिकारीको असहमति र व्यापक जनप्रदर्शनपछि उनले आफ्नो निर्णय फिर्ता लिए । उसो त आत्म–कु बढ्दै गए पनि अमेरिकामा सत्तामा पहुँच पाउन ट्रम्पले नभई मस्कले प्रयास गरिरहेका छन् । त्यसैगरी ‘षड्यन्त्र सिद्धान्त’मा विश्वास नगर्ने हो भने मस्कको मुख्य लक्ष्य रहेको प्रशासनिक निकाय औपचारिक रूपमा राष्ट्रपतिको शक्तिलाई सन्तुलन प्रदान गर्ने निकाय होइन ।
मस्कको कार्य ‘राज्य कब्जा’सँग बढी मेल खान्छन्, जहाँ राजनीतिक व्यक्तिले राज्य संसाधनलाई निजी वा राजनीतिक स्वार्थका लागि उपयोग गर्छन् । उनले अमेरिकी सरकारका विभिन्न निकायलाई आफ्नो नियन्त्रणमा लिएर तिनलाई धन आर्जनको संयन्त्र बनाउन खोजिरहेका हुन सक्छन् । यो प्रक्रिया सरल तर अत्यन्त विनाशकारी हुन्छ । उदाहरणका लागि इन्डोनेसिया, हंगेरी, नाइजेरिया, रुस, श्रीलंका र दक्षिण अफ्रिकामा यो प्रवृत्ति देखिएको थियो ।
पहिले राजनीतिक र व्यापारिक सम्भ्रान्तले औपचारिक संस्था, सूचना प्रणाली र प्रशासनिक नीति–निर्माण प्रक्रियामा नियन्त्रण कायम गर्छन् । त्यसपछि तिनले यही शक्तिको उपयोगअनुकूल हुँदा लागू गर्न, पक्षपातपूर्ण निर्णय गर्न र सार्वजनिक हितभन्दा निजी स्वार्थका आधारमा स्रोत वितरण गर्न छुट पाउँछन् । कब्जा गरिएका राज्यमा, शक्तिशाली नेताले आर्थिक नीति र नियामक निर्णय आफ्ना राजनीतिक सहयोगीलाई लाभान्वित गर्न प्रयोग गर्छन् । उदाहरणका लागि हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकब जुमाले आफ्ना साझेदारलाई यसरी सहयोग गरेका छन् : १. सरकारले प्रतिस्पर्धाविरोधी निर्णय गरेर, २. अनुमतिपत्र र लाइसेन्स जारी गरेर, ३. सरकारी सम्झौता र छुट प्रदान गरेर, ४. नियम वा महसुल हटाएर र ५ कर छुट दिएर ।
राज्य कब्जा मूलतः एक दोहनकारी प्रक्रिया हो । अमेरिकी सरकारको व्यापार सञ्चालन प्रणाली आफ्नो नियन्त्रणमा लिएर मस्क साना तर शक्तिशाली सहयोगीका सञ्जाललाई धन आर्जन गराउने प्रयास गरिरहेका हुन सक्छन् ।
अमेरिकामा राज्य कब्जाको पहिलो लाभार्थी डोनाल्ड ट्रम्प हुन्, जसले आफ्नो कार्यालयलाई आफ्नो पारिवारिक व्यापार साम्राज्य विस्तारमा प्रयोग गरेका छन् । कब्जा गरिएको राज्यसँग उनले सार्वजनिक सम्पत्ति व्यापारिक र राजनीतिक उच्च वर्गबिच हुने वितरणमा प्रभाव पार्न सक्छन् । दोस्रो लाभार्थी मस्क आफैँ र ट्रम्पसँग मिलेर काम गर्ने अन्य सिलिकन भ्यालीका अरबपति हुन्, जसले आफ्ना प्रविधि कम्पनीलाई संघीय समस्या विशेषतः आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सँग सम्बन्धित समाधानका रूपमा प्रस्तुत गरेर लाभदायक सरकारी सम्झौता पाउनेछन् । तेस्रो, लाभार्थी मस्कसँग काम गर्ने इन्जिनियर र प्राविधिकको सानो समूह हो, जसले व्यावसायिक उन्नति, वित्तीय लाभ र नेटवर्किङ अवसरका साथै दण्डहीनताको सुविधा पनि प्राप्त गर्नेछन् । वास्तवमा यस प्रकारको पारस्परिक लाभ अधिनायकवादी सत्ताको काम गर्ने तौरतरिका हो ।
मस्कले जसरी संघीय प्रशासनमा आक्रमण गरिरहेका छन् । त्यसको परिणाम अमेरिकी जनताले व्यहोर्नुपर्नेछ । राज्य कब्जाले खराब निर्णय निम्त्याउँछ किनभने अनुभवी सरकारी कर्मचारी हटाउने क्रम, सरकारी सम्झौता र संवेदनशील जानकारी प्रणालीको पहुँचले जीवनस्तर घटाउन र अमेरिकी जीवनलाई विदेशमा खतरामा पार्न सक्छ । यसले ट्रम्प प्रशासनको सार्वजनिक नीतिमा जवाफदेहिताको कमी ल्याउँछ र आर्थिक लाभ वितरणका महत्वपूर्ण निर्णय अस्वीकृत ढंगले बन्द कोठामा गरिन सक्छन् ।
राज्य कब्जा भ्रष्टाचारसँग अटुट रूपमा जोडिएको हुन्छ । अमेरिकी संघीय सरकारसँग व्यापार गर्न अब सार्वजनिक हित परीक्षणको सट्टा निष्ठाको परीक्षणमा उत्तीर्ण हुन आवश्यक पर्न सक्छ । ट्रम्पका प्रतिद्वन्द्वीले बढी अवरोधको सामना गर्नुपर्नेछ, जबकि उनका सहयोगीको रजगज हुनेछ ।
(मोर्गनबेसर ग्रिफिथ विश्वविद्यालयमा सरकार एवं अन्तर्राष्ट्रिय सम्बन्धका सहप्राध्यापक हुन्)
द कन्भर्सेसनबाट