जसपाका प्रवक्ता तथा अध्यादेश अध्ययन समितिका सदस्य मनीष सुमनलाई ३ प्रश्न

आइतबार, २७ माघ, २०८१
डिजिटल संस्करण

समिति नै बनाएर सुरु भएको अध्यादेशको अध्ययन कता पुग्यो ?
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान गर्नुपूर्व जारी गरेका अध्यादेशका विषयमा अध्ययन गर्न समिति नै बनाएको थियो । हामीले समितिका तर्फबाट विभिन्न विषयका विज्ञहरूसित समेत छलफल गरी अध्ययन गर्यौँ । अध्ययनपछि हामीले समितिको निष्कर्ष यही २४ माघमा पार्टीलाई बुझाइसकेका छौँ । तर, पार्टीले सार्वजनिक नगरिसकेको हुनाले त्यसबारे केही बोल्नुचाहिँ जायज नहोला । 

अध्यादेशलाई जसपा नेपालले सत्ताको ‘बार्गेनिङ’ बनाइरहेको छ भन्ने आरोप छ नि ?
यो एकदमै गलत हल्ला हो । हाम्रो भलो नचाहने र हामीलाई बदनाम गराउन चाहने तत्वले हामीविरुद्ध गरेको षड्यन्त्र हो यो । हामी यसको जोडदार खण्डन गर्छौं । हामी आफ्नो सिद्धान्तलाई बन्धकी राखेर सत्तामा जाँदैनौँ । हामी आफ्नो सिद्धान्त र अडानलाई सत्तासँग किमार्थ साट्दैनौँ । अध्यादेशलाई सिँढी बनाएर हामी कुनै हालतमा सत्तामा जाँदैनौँ । 

अध्यादेशबारे पार्टीको निर्णय कहिले सार्वजनिक गर्नुहुन्छ त ?
हामी तयारी अवस्थामै छौँ । छिटै निर्णय गर्छौं । सबैभन्दा पहिले त अध्यादेश दुवै सदनको कार्यसूचीमा आउनुपर्यो । यसअघि पनि कार्यसूचीमा आउने भयो भनेर हामीले हतारहतार अध्ययन सकेर पार्टीलाई निर्णय बुझायौँ । तर, सरकारले कार्यसूची नै फिर्ता लिइदियो । त्यसैले, जब सरकारले अध्यादेशलाई कार्यसूचीमा चढाउँछ, हामी आफूले गर्नुपर्ने निर्णय त तत्काल गरिहाल्छौँ नि ।

सुझावित समाचार