राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बिहीबार बसेको ११९औँ बोर्ड बैठकले सरकार र अदालतको आदेशविपरीत निर्वाचन गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी)को दैनिक सञ्चालन हुने बैंक खाता रोक्का गर्ने निर्णय गरेको छ ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले एनओसीका पदाधिकारीलाई वैदेशिक भ्रमणमा पनि रोक लगाउने निर्णय भएको छ ।
खेलकुदमन्त्री चौधरीले एनओसीको बैंक खाता रोक्का गर्ने विषय अगाडि बढाएको बताए । ‘राखेपको बोर्ड बैठकले अवैधानिक रूपमा निर्वाचन गरेको एनओसीको बैंक खाता रोक्का गर्ने सम्बन्धमा प्रक्रिया अगाडि बढाएको छ,’ मन्त्री चौधरीले भने, ‘राज्यको कानुन नमान्ने संघ र पदाधिकारीलाई कानुनी दायरामा ल्याउनुपर्छ ।’ एनओसीको अवैधानिक रूपमा भएको निर्वाचनलाई मान्यता नदिन र निष्पक्ष छानबिन गर्न भन्दै सरकारले आइओसीलाई पत्राचारसमेत गरिसकेको छ ।
बैठकले एनओसीका पदाधिकारीलाई वैदेशिक भ्रमणमा समेत रोक लगाउने निर्णयले आगामी फेब्रुअरीमा हुने १४औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारी प्रभावित हुनेछ । आयोजक पाकिस्तानले अर्को महिनामा आयोजना हुने सागको तयारीबारे छलफल गर्न बिहीबार सहभागी सबै राष्ट्रका ओलम्पिक कमिटीका पदाधिकारीलाई भ्रमण गर्न पत्र पठाएको छ ।
सर्वोच्च अदालत र सरकारले निर्वाचन नगराउन निर्देशन दिए पनि गत १३ पुसमा नेपाल ओलम्पिक कमिटीले अनलाइन भोटिङबाट जीवनराम श्रेष्ठलाई लगातार तेस्रोपटक अध्यक्षमा निर्वाचित गरेको थियो
सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशनविपरीत अनलाइन भोटिङमार्फत जीवनराम श्रेष्ठ लगातार तेस्रोपटक एनओसी अध्यक्षमा निर्वाचित भएका थिए । राज्यले एनओसीको मुख्य भवनमा प्रवेश रोक लगाएपछि एनओसी अध्यक्ष श्रेष्ठले अनलाइन निर्वाचन गराएका थिए । त्यसवेला अध्यक्षका अर्का प्रत्याशी निलेन्द्रराज श्रेष्ठ अदालतको आदेश उल्लंघन हुने भन्दै अनलाइन भोटिङमा सहभागी भएनन् । उनी मात्र नभएर मतदान प्रक्रियालाई सात खेल संघले बहिष्कार गरेका थिए ।
निर्वाचनमा निर्विरोध भएका उपाध्यक्ष तथा नेपाल तेक्वान्दो संघका अध्यक्षसमेत रहेका प्रकाशशमशेर राणाले अदालतको आदेश र सरकारको निर्देशनको पालना गर्ने भन्दै निर्वाचनको केही दिनपछि नै पदबाट राजीनामा दिएका थिए ।
एनओसी निर्वाचन अवैध
राखेपको ११९औँ बोर्ड बैठकमा मुख्य गरी कर्णालीको सुर्खेतमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताबारे विभिन्न निर्णय हुनुपर्ने थियो । तर, बैठक एनओसीको निर्वाचन र अन्य गतिविधितर्फ केन्द्रित भयो । बैठकमा एनओसीमाथि प्रतिबन्ध लगाउनुपर्ने र पदाधिकारीलाई वैदेशिक भ्रमणमा रोक लगाउनुपर्ने मुद्दा नै प्राथमिकतामा रह्यो ।
चुनाव र साधारणसभा अवैध भएको ठहर गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा बैठकको निर्णय पठाइने राखेपका सदस्यसचिव टंकलाल घिसिङले बताए । ‘बैठकले एनओसीको गत पुसमा भएको चुनाव र साधारणसभालाई अवैध ठहर गरेको छ,’ उनले भने । चुनाव तथा साधारणसभामा सहभागी राष्ट्रिय खेल संघले राखेपसमक्ष पेस गरेको स्पष्टीकरण उचित कारण र आधारविना पेस गरेका संघका लागि थप आवश्यक प्रक्रिया अगाडि बढाउने गरी निर्णय भएको बैठकमा सहभागी एक सदस्यले भने । ‘एनओसी निर्वाचनलाई अवैध भनी निर्णय भएको छ,’ उनले भने, ‘एनओसीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अगाडि बढाइएको छ ।’ यसैगरी, सरकारबाट एनओसीलाई दिइँदै आएको सबै सहयोग रोक्न लगाउने निर्णय भएको छ । ‘सरकार र अदालतको निर्णयविपरीत काम गर्ने एनओसीलाई प्रदान गरिरहेको सबै सहयोग रोक्ने निर्णय भएको छ,’ ती सदस्यले भने, ‘प्रधानमन्त्री कार्यालय, गृह र परराष्ट्र मन्त्रालयमा समेत राखेपको ११९औँ बोर्ड बैठकको निर्णय केही दिनभित्र पठाइनेछ ।’
दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित
राखेपको ११९औँ बोर्ड बैठकले कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित गर्दै उपयुक्त समयमा सार्वजनिक गर्ने निर्णय गरेको छ । गत २१ मंसिरमा राखेपको ११८औँ बोर्ड बैठकले दसौँ राष्ट्रिय खेलकुद आगामी २३ देखि ३० चैतसम्म आयोजना हुने घोषणा गरेको थियो । यसअघि राखेपका सदस्यसचिव र खेलकुदमन्त्रीबिच सम्बन्ध राम्रो नहुँदा पूर्वघोषित मंसिरमा प्रतियोगिता हुन सकेन । राखेपले हरेक दुई–दुई वर्षमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अवधारणा ल्याएको हो । पहिलो संस्करण ०३८ मा भएको थियो ।
पाकिस्तानमा १४औँ सागबारे छलफल हुने
पाकिस्तानले १४औँ दक्षिण एसियाली खेलकुद (साग)को आयोजनाबारे आगामी २५ र २६ फेब्रुअरीमा बैठक डाकेको छ । सन् २०१९ मा काठमाडौंमा भएको १३औँ सागपछि पाकिस्तानले सन् २०२१ मा साग आयोजना गर्नुपर्ने थियो । पाकिस्तानले कोभिड– १९ को कारण देखाउँदै तत्काल साग आयोजना गर्न नसकिने जनाएको थियो । यद्यपि, पाकिस्तानले त्यसपछि सागबारे निर्णय गरेन । यसबिचमा श्रीलंकाले १४औँ साग आयोजना गर्न सक्ने दाबी प्रस्तुत गरेको थियो ।
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको पछिल्लो बैठकमा पाकिस्तानले सन् २०२५ भित्र साग गर्ने विश्वास सबै राष्ट्रलाई दिलाएको थियो । पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्ष आरिफ सइदले १४औँ सागबारे छलफल गर्न नेपाल, भारत, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका एनओसीका पदाधिकारीलाई डाकेका छन् ।
राखेप बैठकले नेपाल ओलम्पिक कमिटीका पदाधिकारीलाई वैदेशिक भ्रमणमाथि रोक लगाउने निर्णय गरेसँगै नेपालबाट साग बैठकमा सहभागिताबारे अन्योल भएको छ । लाहोरमा हुने बैठकमा प्रतियोगिताको आयोजना मिति, समावेश हुने खेल तथा आयोजना स्थलबारे छलफल हुने एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
१४औँ सागको आयोजक पाकिस्तानले बैठकसँगै सहभागीलाई सम्भावित खेलस्थलको भ्रमण पनि गराउनेछ । बैठकमा प्रतियोगिताका विविध विषयमा पनि छलफल हुनेछ,’ विज्ञप्तिमा उल्लेख छ । सन् २०१९ मा १३औँ सागको समापन दिनमा पाकिस्तानी ओलम्पिक कमिटीका अध्यक्ष जनरल आरिफ हुसेनलाई एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले झन्डा हस्तान्तरण गरेका थिए । आरिफ दक्षिण एसियाली ओलम्पिक कमिटीका अध्यक्ष पनि हुन् ।