मूल्यवृद्धिको अवस्थाबारे प्रेमलाल महर्जनलाई तीन प्रश्न

आइतबार, २८ पुष, २०८१
डिजिटल संस्करण

१. नेपाली बजारमा मूल्यवृद्धिको अवस्था कस्तो छ ?
यतिखेर हाम्रो बजारमा मूल्यवृद्धिको ‘ट्रेन्ड’ अत्यन्त अराजक देखिएको छ । स्थानीय बजारमा मूल्यवृद्धिको यो स्थिति १५–२० वर्षयता आएकै थिएन । भन्नलाई देशमा तीन तहका सरकार अस्तित्वमा छन् । तर, बजारमा भने कुनै पनि सरकारको उपस्थितिको संकेतसम्म देखिन्न । अहिले सागसब्जी र तरकारीजन्य उत्पादनको सिजन हो । यस्तोमा यस्ता उत्पादन अत्यन्त सस्तो मूल्यमा पाउनुपर्ने हो । तर, तिनै वस्तुको मूल्य पनि छोई नसक्नु छ । जाडोमा अन्डा उत्पादन घटेकाले यसमा मूल्यवृद्धि भएको भन्ने तर्क पनि गलत छ । अहिले पोल्ट्री फार्महरूको संख्या वृद्धि भएकाले उत्पादन पनि विगतका तुलनामा बढेको छ । तैपनि, कम उत्पादनको बहाना बनाएर मिलेमतोमा कृत्रिम र अस्वाभाविक रूपमा मूल्य बढाइएको छ । समग्रमा भन्नुपर्दा नेपाली बजार व्यवसायीको अराजकतातर्फ गइरहेको छ । 

२. मूल्यवृद्धिले आमउपभोक्तामाथि कस्तो असर पारिरहेको छ ?
आमउपभोक्ताको क्रयशक्ति निकै न्यून भएको छ । बजारमा अनियन्त्रित गतिमा बढिरहेको महँगीले आमउपभोक्ताको ढाड सेकिरहेको छ । दैनिक उपभोग्य दाल, तरकारीको मूल्य बढ्दा उपभोक्ताको भान्छा महँगो बनेको छ । सिमेन्टलगायत उपभोग्य सामग्रीको मूल्यवृद्धिले निर्माण क्षेत्रमा पनि गम्भीर असर पारिरहेको छ । 

३. मूल्यवृद्धि नियन्त्रणमा राज्य किन उदासीन देखिएको होला ?
राजनीतिक दलहरू आफैँले कालोबजारिया र बिचौलियालाई आआफ्ना दलका झन्डा बोकाउँदै आएका छन् । त्यसले गर्दा तिनै दलको सरकारले कालोबजारिया र बिचौलियालाई फुक्काफाल छाडिदिएको छ । तिनले बजारमा उपभोक्तामाथि जतिसुकै शोषण गरे पनि सरकारले मौन समर्थन दिँदै आएको छ । हामीले यसबारे बारम्बार उजुरी गर्दै आएका छौँ । तर, व्यापारी, कर्मचारी र राज्यको त्रिपक्षीय लगनगाँठो कस्सिएकाले हाम्रो उजुरीलाई उनीहरूले सुन्न पनि चाहेका छैनन् ।

सुझावित समाचार