‘ऊर्जा विकास मार्गचित्र, २०८१’ सार्वजनिक

शुक्रबार, २६ पुष, २०८१
डिजिटल संस्करण

सबैभन्दा धेरै लगानी विदेशमा भएका नेपालीबाट जुट

‘ऊर्जा विकास मार्गचित्र, २०८१’ को लक्ष्य पूरा गर्न विदेशमा रहेका नेपालीबाट सबैभन्दा धेरै लगानी जुटाउने खाका बनाइएको छ । मार्गचित्रमार्फत सन् २०३५ सम्म साढे २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसका लागि आवश्यक पर्ने पूर्वाधार बनाउन ४६ अर्ब ५० करोड डलर लागत अनुमान गरिएको छ । यसका लागि सबैभन्दा धेरै लगानी विदेशमा रहेका नेपालीबाट जुटाउने खाका प्रस्तुत गरिएको छ  । 

१६ पुसमा मन्त्रिपरिषद्बाट स्वीकृत मार्गचित्रलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको हो । त्यसमा वैदेशिक रोजगारमा रहेका नेपाली र गैरआवासीय नेपालीबाट १२ अर्ब डलर अर्थात् १६ खर्ब ५२ (बिहीबारको विनिमय दरअनुसार) रुपैयाँ लगानी जुटाउने बताइएको छ । 

त्यसपछि धेरै लगानी नेपाली निजी क्षेत्रबाट उठाउने मार्गचित्रमा उल्लेख छ । निजी क्षेत्र र बैंकबाट १० अर्ब डलर अर्थात् १३ खर्ब ७६ अर्ब ६० करोड रुपैयाँ उठाउने लक्ष्य लिएको छ । विदेशी लगानी, ऋण तथा अनुदानबाट आठ अर्ब ५० करोड डलर लगानी भित्र्याउने लक्ष्य छ । यसैगरी, नेपाल विद्युत् प्राधिकरणबाट आठ अर्ब डलर, नेपाल सरकारबाट ६ अर्ब डलर र क्लाइमेन्ट फाइनान्सिङबाट दुई अर्ब लगानी जुटाउने लक्ष्य लिएको छ । 

मार्गचित्रमार्फत वर्ष २०३५ सम्म नेपालको विद्युत् जडित क्षमता २८ हजार पाँच सय मेगावाट पुर्याउने लक्ष्य लिइएको छ । त्यसमा १५ हजार मेगावाट निर्यात गर्ने र साढे १३ हजार नेपालमै खपत गर्ने लक्ष्य लिएको छ । त्यसमा भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य तोकिएको छ । त्यसका लागि ०८० पुसमै भारतसँग सम्झौता भने भइसकेको छ । बाँकी पाँच हजार मेगावाटमा अधिकांश विद्युत् बंगलादेश र चीनमा निर्यात गर्ने लक्ष्य छ । बंगलादेशमा पनि ४० मेगावाट विद्युत्् निर्यात सुरु भइसकेको छ  ।

मार्गचित्रमार्फत २०३५ सम्म प्रतिव्यक्ति विद्युत् खपत १५ सय युनिट पुर्याउने लक्ष्य लिइएको छ । हाल नेपालको प्रतिव्यक्ति खपत प्रतिवर्ष ४१० युनिट रहेको छ । त्यो अवस्थामा अबको ११ वर्षमा सोबराबरको प्रतिव्यक्ति विद्युत् खपत पुग्ने बताइएको छ । 

सरकारले यसअघि ०४९ र ०५८ मा पनि ऊर्जा विकास नीति ल्याएको थियो । पछिल्लोपटक ०७५ मा ऊर्जा श्वेतपत्र जारी गर्दै रणनीति पनि बनाएर १० वर्ष अर्थात् ०८५ सम्म १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको थियो । तर, त्यसको कार्यान्वयन हुन नसकेपछि सरकारले पुनः ऊर्जा विकाससम्बन्धी नयाँ मार्गचित्र बनाएको छ ।

प्रतिवेदनअनुसार काम भएमा सरकारले विद्युत् आयोजनाबाट ८८ अर्ब रुपैयाँ राजस्व प्राप्ति गर्नेछ । विद्युत् उत्पादकहरूले भने ३९ खर्ब रुपैयाँ आम्दानी गर्नेछन् । यसैगरी विद्युत् खरिद–बिक्रीबापत नेपाल विद्युत् प्राधिकरणलाई २६ खर्ब रुपैयाँसम्म फाइदा हुनेछ ।

See More On

सुझावित समाचार