सांग्रिला डेभलपमेन्ट बैंक २३औँ वर्षमा

आइतबार, १५ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको २२औँ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकले शुक्रबार केन्द्रीय कार्यालय बालुवाटारमा कार्यक्रमसमेत आयोजना गरेको छ । साथै, विभिन्न सहयोगको घोषणा पनि गरेको छ ।

बैंकका अनुसार महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिनेछ । हुम्लाको सिमकोटस्थित डाँडाफया हेल्थपोस्टमा आयोजना गरिने स्वास्थ्य शिविरमा प्रसूतिरोग विशेषज्ञद्वारा सेवा उपलब्ध गराइने बैंकले जनाएको छ ।

यसैगरी, सिमकोट– २, हुम्लाकै श्री रामदेव माविका एक सय तीनजना विद्यार्थीलाई विद्यालय पोसाक र स्टेसनरी सामग्री पनि उपलब्ध गराइने घोषणा गरिएको छ ।

यस्तै, रोल्पाको सुनीलस्मृति गाउँपालिका– २ स्थित खुङ्ग्री हेल्थपोस्टलाई एक–एक थान बेबी वार्मर र अटोक्लेभ ड्रम सेट उपलब्ध गराउने बताइएको छ ।

त्यसैगरी, बैंकमा पाँच र दश वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई मायाको चिनो प्रदान गरिएको थियो । बैंकका सिइओ रविन सिजापतिले बैंकले आफ्नो सेवालाई उत्कृष्ट बनाउँदै लैजाने बताए । 

सुझावित समाचार