उद्योग वाणिज्य महासंघको अध्यक्ष फेरि प्रत्यक्ष निर्वाचनबाट

बुधबार, २६ मंसिर, २०८१
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्थासहित विधान संशोधन पारित भएको छ । महासंघको मंगलबार बसेको विशेष साधारणसभाले सर्वसम्मत रूपमा विधान संशोधन प्रस्ताव अनुमोदन गरेको हो । संशोधित विधान मन्त्रिपरिषद्बाट स्वीकृति भएलगत्तै लागू हुनेछ ।

संशोधित विधान अबको एक कार्यकालपछि लागू हुनेछ । हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ आगामी कार्यसमितिमा स्वतः अध्यक्ष बन्न पाउनेछन् । त्यसपछि अध्यक्षमा प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था गरिएको छ । सबैको सहमतिबाटै सर्वसम्मत रूपमा विधान संशोधन प्रस्ताव पारित भएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । विशेष साधारणसभामा निर्णयार्थ प्रस्तुत गरिएको विधान संशोधन प्रस्ताव हलमा सबैले ताली बजाएर अनुमोदन गरेको वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बताए । 

यसअघि २० जेठमा बसेको महासंघको स्थायी समिति र २४ असारमा बसेको कार्यकारिणी समिति बैठकले आगामी दुई कार्यकाल वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने निर्णय गरेको थियो । महासंघका उपाध्यक्षहरू सुरकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्स्ना श्रेष्ठले अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने व्यवस्था दुई कार्यकालपछि मात्र लागू गर्नुपर्ने अडान राख्दै आएका थिए । तर, उनीहरूले अपेक्षा गरेअनुसार नभए पनि विरोध पनि गरेका छैनन् । वैद्यले भने, ‘प्रत्यक्ष निर्वाचित अध्यक्षको हकमा अझै दुई कार्यकाल वरिष्ठ उपाध्यक्ष नै स्वतः हुनुपर्ने भन्ने थियो, तर अब अञ्जन श्रेष्ठपछि नै अध्यक्षमा निर्वाचन हुने भयो । हलले पारित गरिसकेपछि यसमा विवाद गर्ने कुरा भएन ।’

महासंघ अध्यक्ष ढकालले विधान संशोधन सर्वसम्मत ढंगले हुनु संस्थाकै लागि ठुलो उपलब्धि भएको बताए । उनले भने, ‘यसले व्यवसायीहरू एकबद्ध रहेको सन्देश पनि गएको छ, संस्थालाई पनि थप बलियो बनाएको छ ।’

अब कार्यसमितिको कार्यकाल पनि दुई वर्षको हुनेछ । चण्डीराज ढकालले आफ्नो कार्यकाल (०६२–०६४) मा विधान संशोधन गरेर दुईवर्षे कार्यकाललाई तीन वर्षको बनाएका थिए । यस्तै, पहिलोपटक महासंघमा महिला उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । महिला उपाध्यक्ष कार्यकारिणी समितिले चयन गर्ने व्यवस्था गरिएको छ । तर, कार्यकारिणी समितिमा १२ जना महिला सदस्य भए मात्र महिला उपाध्यक्ष चयन हुने महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बताए । 

जिल्ला–नगरतर्फ दुईजना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । महासंघमा ५० प्रतिशत मतभार रहेको जिल्ला–नगरतर्फ एक वरिष्ठसहित दुईजना उपाध्यक्ष हुनुपर्ने माग थियो । विधान संशोधन गर्दा जिल्ला–नगरतर्फ वरिष्ठ उपाध्यक्षको व्यवस्था नगरिए पनि दुईजना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । अब महासंघको कार्यसमितिमा दुई जिल्ला–नगर, वस्तुगत, एसोसिएट र महिला गरी पाँचजना उपाध्यक्ष रहनेछन । यदि महासंघमा द्वि–राष्ट्रिय उद्योग वाणिज्य संघको सदस्य संख्या २० पुगेमा द्वि–राष्ट्रियतर्फ पनि एउटा उपाध्यक्ष हुने महासंघ अध्यक्ष ढकालले बताए । 

अब वरिष्ठ उपाध्यक्षको चयन कार्यकारिणी समितिले गर्ने पुरानै व्यवस्था लागू हुने भएको छ । महासंघको नेतृत्वका लागि चर्को अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै ०७३ मा विधान संशोधन गरेर पशुपति मुरारकापछि वरिष्ठ उपाध्यक्षमा निर्वाचन गर्ने र निर्वाचित वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने व्यवस्था गरिएको थियो । सोही व्यवस्थाबमोजिम वरिष्ठ उपाध्यक्ष बनेकी भवनी राणा पहिलोपटक स्वतः अध्यक्ष भएकी थिइन् । त्यसयता शेखर गोल्छा र चन्द्र ढकाल स्वतः अध्यक्ष भइसकेका छन् । अझै एक कार्यकाल हालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ स्वतः अध्यक्ष हुँदै छन् । 

‘अध्यक्षमा प्रत्यक्ष निर्वाचन गर्दा धेरै बेथिति–चलखेल बढ्यो भनेर वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचन गरी उसलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था गरिएको थियो,’ महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले भने  ।

सुझावित समाचार