एएफसी एसियन कप छनोट : नेपालले भियतनाम र मलेसियाको सामना गर्ने

फिफा वरीयतामा आफूभन्दा माथि रहेको र एसिया कपकै अनुभवी भियतनाम र मलेसियाविरुद्ध नेपालले खेल्ने

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

सन् २०२७ मा साउदी अरबमा हुने एएफसी एसियन कपअन्तर्गत तेस्रो चरणको छनोटमा ‘ड्र’ सार्वजनिक भएको छ । एसियन फुटबल महासंघ (एएफसी)ले सोमबार निकालेको ‘ड्र’ अनुसार नेपाल समूह ‘एफ’ छ । यस समूहमा नेपालले भियतनाम र मलेसियाजस्ता कठिन प्रतिद्वन्द्वीविरुद्ध खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल २४ मार्चमा मलेसियाविरुद्ध खेल्नेछ । मलेसियाको क्वालालम्पुरस्थित एएफसीको मुख्य कार्यलयमा ‘ड्र’ भएको हो । 

एएफसीले तेस्रो चरणमा फिफा वरीयताअनुसार सहभागी २४ टोलीलाई समान चार समूहमा विभाजन गरिएको थियो । जसमा नेपाललाई पोट ३ मा राखियो । नेपालले पोट १ बाट भियतनाम, पोट २ बाट मलेसिया र पोट ४ बाट लाओस प्रतिद्वन्द्वी पाएको हो । भियतनाम र मलेसियाको तुलनामा लाओस कमजोर प्रतिद्वन्द्वी हो । तेस्रो चरण खेल आगामी वर्षको २५ मार्चबाट सुरु हुनेछ । प्रतियोगिता राउन्ड रोविन फर्म्याट अनुसार होम एन्ड अवेमा हुनेछ । 

प्रत्येक समूहको विजेताले सन् २०२७ मा साउदीमा आयोजना हुने एएफसी एसियन कपका लागि छनोट हुनेछ । फिफा वरीयतामा १३२औँ स्थानमा रहेको मलेसिया चारपटक एसिया कप खेलिसकेको टोली हो । मलेसियाले सन् १९७६, १९८०, २००७ र २०२३ मा एसिया कप खेलेको थियो । तर, मलेसियाले चारैपटकको सहभागितामा पहिलो चरण पार गर्न सकेन । 

भियतनाम र मलेसिया अनुभवी राष्ट्र
नेपालले मलेसियासँग सातपटक प्रतिस्पर्धा गर्यो । जसमा नेपालले ६ हार र एक बराबरी नतिजा निकालेको छ । नेपालको अर्को प्रतिद्वन्द्वी भियतनाम फिफा वरीयताको ११६औँ स्थानमा छ । नेपालले भियतनामसँग अहिलेसम्म दुई अन्तर्राष्ट्रिय खेल खेलेको छ । जसनमा नेपाल दुवै खेलमा पराजित भयो । भियनतामले पाँचपटक एसियन कपमा सहभागिता जनाएको छ । भियतनाम सन् १९५६ र १९६० मा लगातार दुईपटक चौथो भएको थियो । भियनताम सन् १९९९ र २००७ मा क्वार्टरफाइनलसम्म पुगेको थियो । गत संस्करणा यो टोली समूहचरणबाट बाहिरिएको थियो । नेपालले अहिलेसम्म एसिया कपमा स्थान बनाउन सकेको छैन । 

नेपालले लाओससँग पाँच खेलमै अपराजित यात्रा राखेको छ । नेपालले चार जित र एक बराबरी नतिजा लाओसविरुद्ध निकालेको छ । नेपालले अहिलेसम्म लाओससँग विश्वकप र एसियन कप छनोटको प्रारम्भिक चरणमा समेत खेलेको थियो । जसमा घरेलु मैदानमा लाओससँग बराबरी खेलेको नेपालले अवे मैदानमा जित हात पार्दै अघिल्लो चरणमा पुगेको थियो । यसअघि दोस्रो चरणको छनोटबाट १८ टोलीले एसियन कपमा स्थान पक्का गरिसकेका छन् । तेस्रो चरणको प्रतिस्पर्धामा सबै टोलीले एकअर्कासँग दुईपटक खेल्नेछन् । 

मुख्य प्रशिक्षकविहीन नेपाल
अखिल नेपाल फुटबल संघ (एन्फा) ले अल्वर्ट भिसेन्जोको सम्झौता नवीकरण नगरेपछि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली मुख्य प्रशिक्षकविहीन छ । एन्फाले मुख्य प्रशिक्षक नियुक्त नगर्दा राष्ट्रिय टोलीको नियमित प्रशिक्षण हुन सकिरहेको छैन । एन्फाले केही समयअगाडि मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीका पूर्वखेलाडी नवीन न्यौपानेलाई आन्तरिक प्रशिक्षक बनाइएको थियो । एएफसीको नियमअनुसार राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि प्रोलाइसेन्स प्राप्त हुनुपर्छ । 

See More On

सुझावित समाचार