एनपिएलमा चलेनन् सन्दीप, चार खेलमा एक विकेट

शनिबार, २२ मंसिर, २०८१
डिजिटल संस्करण

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले तेस्रो हार बेहोरेको छ। शनिबार भएको एनपिएलको १३ औं खेलमा विराटनगर कर्णाली याक्ससँग ७ रनले पराजित भयो। १३४ रनको लक्ष्य पनि उसले पुरा गर्न सकेन। 

चार खेलमध्ये तीनमा पराजित भएपछि विराटनगरको प्लेअफ सम्भावना कमजोर बनेको छ। अंक तालिकामा २ अंकसहित विराटनगर सातौं स्थानमा छ । 

टिमको नतिजासँगै विराटनगरका कप्तान सन्दीप लामिछानेको व्यक्तिगत प्रदर्शन पनि राम्रो हुन सकेको छैन । एनपिएलमा उनको बलिङ चल्न सकेको छैन । चार खेलमा सन्दीपले १ विकेट मात्र लिएका छन् । 

शनिबारको खेलमा सन्दीपले विकेट त लिन सकेनन् धेरै रन समेत खर्चिए। चार ओभरमा उनले ३६ रन दिएका थिए। 

यसअघि लुम्बिनी लायन्सविरुद्धको खेलमा एक विकेट लिएर २६ रन खर्चिएका सन्दीपले त्यसअघि सुदुरपश्चिम र जनकपुरविरुद्धको खेलमा विकेटविहिन बनेका थिए। जनकपुरविरुद्ध ३० रन तथा सुदुरपश्चिमविरुद्धको खेलमा ३१ रन खर्चिएका थिए। 

ब्याटीङतर्फ चार खेलमा सन्दीपले २२ रन बनाएका छन्। 

सुझावित समाचार