साफ महिला च्याम्पियनसिप : भारतलाई फेरि घरमै हराउने योजनामा नेपाल

आइतबार, ११ कार्तिक, २०८१
डिजिटल संस्करण
साफ महिला च्याम्पियनसिप : भारतलाई फेरि घरमै हराउने योजनामा नेपाल

भारतविरुद्ध खेलको पूर्वसन्ध्यामा अभ्यास गर्दै नेपाली महिला फुटबल टोली । तस्बिर सौजन्य : सरोज सापकोटा

पाँचपटकको च्याम्पियन भारतलाई नेपालले सन् २०२२ मा दशरथ रंगशालामै १–० ले हराएको थियो 

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाले भारतलाई फेरि घरमै हराउने योजना रहेको बताएकी छिन् । साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा आइतबार पाँचपटकको च्याम्पियन भारत र घरेलु टोली नेपालबिच प्रतिस्पर्धा हुँदै छ । दशरथ रंगशालामा हुने खेलमा नेपाल लगातार भारतलाई सेमिफाइनलमा हराउने योजनामा छ । ‘सबै खेलाडी मानसिक रूपमा तयार छन् । हाम्रो लक्ष्य भारतलाई फेरि घरमै हराउने हो,’ कप्तान अञ्जिलाले भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा भएको पूर्वसन्ध्याको अभ्यासपछि भनिन् । ‘सावित्रा भण्डारी, रेनुका नगरकोटेलगायत अनुभवी खेलाडी सेमिफाइनलमा हुनेछन् । युवा टोली पनि उच्च लयमा हुँदा टोली मजबुत बनेको छ ।’

सन् २०२२ मा दशरथ रंगशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई १–० ले हराउँदै फाइलनमा स्थान बनाएको थियो । रश्मिकुमारी घिसिङको निर्णायक गोलमा नेपालले भारतलाई हराएको हो । तर, फाइनलमा बंगलादेशसँग ३–१ ले पराजित हुँदा नेपाल पुनः उपविजेतामै सीमित बनेको थियो । 

भुटानविरुद्ध खेल्दा एसिएल गुमाएका दीपा शाही र हिराकुमारी भुजेलको अभाव भने नेपाली टिममा खड्किनेछ । उनीहरू नौ महिना मैदानबाहिर हुनेछन् । दुई खेलमा विश्राम लिएका रक्षक पूजा राना र समीक्षा घिमिरे टोलीमा कमब्याक हुन सक्छन् । भारतसँग खेल्नुअघि सेनाको मैदानमा प्रशिक्षक राजेन्द्र तामाङले दुवैलाई अभ्यास गराएका थिए । प्रशिक्षक तामाङले घरेलु समर्थकमाझ भारतलाई पुनः हराउने रणनीति रहेको जानकारी गराए । ‘हाम्रो मुख्य खेलाडी सावित्रालाई उनीहरूले रोक्नेछन् । त्यसको फाइदा नयाँ खेलाडीले लिनुपर्छ,’ उनले भने, ‘घरेलु समर्थकमाझ भारतलाई हराउन खेल्छौँ ।’

नेपालविरुद्ध भारतकी मिडफिल्डर अञ्जु तामाङ पनि चोटका कारण उपलब्ध हुनेछैनन् । गोलकिपर पान्थोई चानु नयाँ हुँदा नेपालले त्यसको फाइदा लिन सक्ने प्रशिक्षक तामाङको विश्वास छ । प्रशिक्षक सन्तोषकुमार कश्यपले घरेलु समर्थकमाझ नेपालसँग खेल्न तयार भएको प्रतिक्रिया दिएका छन् । 

यसअघि भारत समूह ‘ए’बाट उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो खेलमा पाकिस्तानलाई ५–२ ले हराएको भारत दोस्रो खेलमा साबिक विजेता बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । यता, नेपाल समूह ‘बी’को विजेताका रूपमा अन्तिम चारमा प्रवेश गर्‍यो । तीन खेल खेल्दा नेपाललाई मात्रै कुनै पनि टोलीले गोल गर्न सकेका छैनन् । नेपालले तीन खेलमा १७ गोल गर्दा सात अंक जोडेको थियो । 

सुझावित समाचार