साफ महिला च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा भारतसँग भिड्ने

शुक्रबार, ९ कार्तिक, २०८१
डिजिटल संस्करण
साफ महिला च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा भारतसँग भिड्ने

समूह विजेता बन्न श्रीलंकाविरुद्ध निर्णायक छैटौँ गोल गरेपछि खुसी मनाउँदै नेपाली खेलाडी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

घरेलु टोली नेपालले सर्वाधिक पाँचपटकको च्याम्पियन भारतसँग साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएको छ । बिहीबार दशरथ रंगशालामा भएको समूह ‘बी’को अन्तिम खेलसँगै सेमिफाइनल समीकरण पूरा भयो । निर्णायक खेलमा नेपालले श्रीलंकालाई ६–० ले हरायो । यो हारपछि श्रीलंका समूह चरणबाट बाहिरियो । यसअघि दिनको पहिलो खेलमा भुटानले माल्दिभ्सलाई १३–० ले हराएपछि नेपाललाई समूह विजेता बन्न कम्तीमा ६ गोल गर्नुपर्ने दबाब थियो । अब फाइनल प्रवेशका लागि नेपालले भारतसँग खेल्दा साबिक विजेता बंगलादेशले भुटानको सामना गर्नेछ । 

नेपालका प्रशिक्षक राजेन्द्र तामाङले सेमिफाइनल जित्न खेल्ने बताएका छन् । ‘हामी भारतसँग खेल्न तयार छौँ । उपाधि जित्ने लक्ष्य हुँदा सेमिफाइनल जित्न खेल्छौँ ।’ सन् २०२२ को संस्करणमा पनि नेपाल र भारतले नै सेमिफाइनल प्रतिस्पर्धा गरेका थिए । रश्मिकुमारी घिसिङको निर्णायक गोलमा नेपाल फाइनलमा प्रवेश गरेको थियो । नेपालले भारतलाई साफ च्याम्पियनसिपमा हराएको यो नै पहिलोपटक थियो । फाइनलमा भने नेपाल बंगलादेशसँग ३–१ ले पराजित हुँदा पुनः उपविजेतामा सीमित बनेको थियो । 

रश्मिको गोलमा समूह विजेता
नेपालले श्रीलंकालाई ६–० ले हराउँदा समूह विजेता बनाउन रश्मिकुमारी घिसिङले निर्णायक गोल गरिन् । ९० मिनेटसम्म नेपाल ५–० ले अघि हुँदा उपविजेता हुने निश्चितजस्तै थियो । तर, इन्जुरी समयमा रश्मिले हेडर गोल गर्दै नेपाललाई समूह विजेता बनाएकी हुन् । तीन खेलबाट समान ७ अंक भए पनि भुटान गोलअन्तरमा उपविजेता बन्यो । यसअघि नेपाल र भुटानले पहिलो खेलमा गोलरहित बराबरी खेलेका थिए । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ११–० ले हराएको थियो । 

यसअघि रेखा पौडेलले दुई तथा सविता रानामगर र सावित्रा भण्डारीले पहिलो हाफमै गोल गरेपछि नेपाल ४–० ले अघि रह्यो । दोस्रो हाफमा अमिसा कार्की र रश्मिकुमारी घिसिङले समान एक गोल गरेका थिए । प्रशिक्षक राजेन्द्र तामाङले तेस्रो खेलमा कप्तान अञ्जिला तुम्बाप्पो सुब्बासहित अमृता जैशी, सावित्रा भण्डारीलाई पहिलो ११ मा खेलाएका थिए । तीनै खेलाडी दोस्रो खेलमा माल्दिभ्सविरुद्ध विश्राममा थिए । 

पहिलो हाफमै चार गोल 
श्रीलंकाविरुद्ध नेपालले पहिलो हाफमै चार गोल गर्‍यो । दोस्रो हाफमा श्रीलंकाले बलियो रक्षापंक्ति रणनीति अपनायो । फलतः समूह विजेता बन्न एक गोल चाहिएको अवस्थामा नेपाली खेलाडी निकै दबाबमा थिए । 

यसअघि खेलको आठौँ मिनेटमा सविताले नेपाललाई अग्रता दिलाइन् । फ्रान्सबाट व्यावसायिक फुटबल खेलेर फर्किएकी सावित्राले मिलाएको सुन्दर पासमा उनले गोल गरेकी हुन् । दोस्रो गोल १२औँ मिनेटमा सम्भव भयो । सावित्राले २५ यार्ड नजिकैबाट हानेको शक्तिशाली प्रहारले सीधै जाली चुमेको थियो । विमला विकले मिलाएको बलमा सावित्राले गोल गरेकी हुन् । उनी तीन दिनअघि मात्रै नेपाल आएर पहिलो खेल खेलेकी हुन् । यो साफमा उनको पहिलो गोल हो । 

खेलको १३औँ मिनेटमै रेखा पौडेलले तेस्रो गोल गरिन् । अमिसाको क्रसमा बक्सभित्र पुग्दै रेखाले भली गोल गरेकी हुन् । ३६औँ मिनेटमा रेखाले व्यक्तिगत दोस्रो गोल गरेकी हुन् । सावित्राले बक्सबाहिरबाट हानेको प्रहार रेखालाई लाग्दै गोल हुन पुगेपछि पहिलो हाफमै नेपालले ४–० को अग्रता बनायो । दोस्रो हाफमा भने नेपालले दुई गोल मात्रै गर्‍यो । ४७औँ मिनेटमा अमिसा कार्कीले हेडरमा पाँचौँ गोल गरिन् । खेलको इन्जुरी समयमा रश्मिले छैटौँ गोल गरिन् । 

सुझावित समाचार