मिटरब्याजी रामदेवसहित सातजनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ पुर्जी जारी

बुधबार, ३० असोज, २०८१
डिजिटल संस्करण

मिटरब्याजी रामदेव साहु तेलीसहित सातजनाविरुद्ध अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ। सप्तरी जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

रामदेवसहित उनकी श्रीमती शिवकुमारी देवी, छोराहरू नन्दकिशोर र विपिनकुमार, छोरी पुषा साह, नाति चन्दनकुमार साह र कैलाश साहविरुद्ध पक्राउ पुर्जी जारी भएको स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले जानकारी दिए।

यसअघि गत साउन २७ गते रामदेवकी छोरी खडक नगरपालिका– ७ कल्याणपुरकी अनुराधा साहलाई १५ लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न सप्तरी जिल्ला अदालतका न्यायाधीश सञ्जीव पोखरेलको एकल इजलासले आदेश दिएको थियो । रामदेवसहित अन्य सातजना अझै पक्राउ परेका छैनन्।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा ३० को उपदफा (१) बमोजिम उनीहरूविरुद्ध १३ करोड ५५ लाख ७८  हजार ८२६  रुपैयाँ बिगो तथा बिगोको दोब्बर जरिवाना र कसुरको मात्राअनुसार कैद सजाय मागदाबी गर्दै गत साउन २३ गते अदालतमा आरोपपत्र दायर भएको छ। परिबन्धमा परेका विपन्नलाई ऋण लगाएर रामदेवले मिटरब्याजमा रकम असुल्नुका साथै उनीहरूको जग्गासमेत कब्जा गरेका छन्। निमुखामाथिको यस्तो अत्याचार गर्नेमा साहुकारको पूरै परिवार संलग्न रहेको अभियोग छ।

खडक नगरपालिका कल्याणपुरका मिटरब्याजी तेलीको खोजीमा रहेको सप्तरी प्रहरीले उनका छोरा नन्दकिशोरलाई धरान बजारबाट र छोरी अनुराधालाई काठमाडौंबाट पक्राउ गरेको थियो। सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई २२ असार ०७९ सालमा  पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो। त्यसपछि छोरा र छोरीलाई जनही ५०–५० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो।

ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै साहुकार रामदेवसँगै उनकी श्रीमती शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार र धनुषा खरिहानी टोल बस्ने कैलाश साहविरुद्ध सप्तरीका १७ जनाले उजुरी दिएका थिए।

सुझावित समाचार