सरकारी टोलीले बाढीबाट प्रभावित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् परियोजनाको निरीक्षण गरेको छ । परियोजनाबाट जतिसक्दो चाँडो विद्युत् उत्पादन सुरु गर्न पहल गर्ने उद्देश्यसहित मंगलबार ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको टोलीले निरीक्षण गरेको हो ।
टोलीमा जलविद्युत् केन्द्रको सम्पत्ति बिमा गरिएको राष्ट्रिय बिमा संस्थानका सर्भेयरहरू पनि सहभागी थिए । निरीक्षणको क्रममा राज्यमन्त्री तामाङले माथिल्लो तामाकोशी बन्द हुँदा समग्र राष्ट्रलाई नै ठुलो क्षति भएकाले हरेक उपाय अवलम्बन गरी विद्युत् उत्पादन छिट्टो सुरु गर्नुपर्ने बताए ।
आयोजनाको प्रवर्द्धककम्पनी अपर तामाकोशी हाइड्रोपावरका सञ्चालक समितिका अध्यक्षसमेत रहेका कार्यकारी निर्देशक कुलमान घिसिङले पहिरोले नियन्त्रण कक्ष, डिस्यान्डर, कल्भर्टलगायतका संरचनामा ठुलो क्षति पुर्याएको बताए । उक्त क्षेत्र अझै जोखिमयुक्त रहेकाले लाइडार सर्वेमार्फत समग्र रूपमा भौगर्भिक अध्ययन गरी जोखिम पहिचान गर्न लागिएको बताए ।