संघीय संसद् संसदीय सुनुवाइ समितिमा आज विभिन्न चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ । स्पेनका लागि प्रस्तावित राजदूत सनिल नेपालले नेपाल र स्पेनबिचको सम्बन्ध, विश्वमञ्चमा दुई देशको भूमिकालगायतबारे आफ्नो प्रस्तुति दिएका थिए।
उनले आफू प्रस्तावित मुलुकमा राजदूतका रूपमा काम गर्ने अवसर पाएको खण्डमा आर्थिक कूटनीतिका अलावा श्रम कूटनीतिलाई पनि उत्तिकै महत्त्व दिने बताए। उनले समितिलाई सो देशबारे जानकारी गराउँदै दूतावासबाट हुने सेवाप्रवाहलाई थप परिष्कृत र वैज्ञानिक बनाउन पहल गर्ने धारणा राखे ।
समितिले आज बेलायत, अमेरिका, श्रीलंकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ गर्ने कार्यतालिका बनाएको छ । गत साउन १४ को मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो । सरकारले भारतका लागि डा. शंकरप्रसाद शर्मा, चीनका लागि डा. कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा. शैल रुपाखेती, इजरायलका लागि प्रा धनप्रसाद पण्डित, मलेसियाका लागि डा. नेत्रप्रसाद तिमल्सिना र पाकिस्तानका लागि रीता धिताललाई सिफारिस गरेको थियो ।
त्यस्तै, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसी महासंघका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङ्फे, स्पेनका लागि सनिल नेपाल, श्रीलंका लागि रामकृष्ण भट्टराई, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी सिफारिस भएका थिए ।