पोखरा र गौतम बुद्ध विमानस्थल चलाउन भारत र चीनसँग पर्यटनमन्त्रीले मागे सहयोग

बिहिबार, २७ भदौ, २०८१
डिजिटल संस्करण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भैरहवाको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रूपमा सञ्चालनका लागि छिमेकी देशहरूको दरिलो सहयोग आवश्यक रहेको बताएका छन् ।

भारतको नयाँदिल्लीमा सुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को एसिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि सहयोग गर्न भारत, चीनलगायत छिमेकी देशलाई आग्रह गरेका हुन् । 

‘पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सर्टिफाई भइसकेका छन्, यी विमानस्थल प्रभावकारी रूपमा सञ्चालन गर्न क्षेत्रीय सहयोगको अपेक्षा गरेका छौँ,’ मन्त्री पाण्डेले सम्बोधनका क्रममा भने, ‘यसले नेपाली उड्डयन क्षेत्रको निरन्तर सुधारप्रतिको हाम्रो प्रतिबद्धता स्पष्ट हुन्छ ।’ उनले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी देशहरूको सहयोगका लागि विशेष जोड दिए ।

नेपाल हवाई सुरक्षाका लागि क्षमता अभिवृद्धिप्रति प्रतिबद्ध रहेको र आइकाओको युनिभर्सल सेफ्टी ओभरसाइट अडिट प्रोग्राम (युएसओएपी) कार्यान्वयनको विषयमा नेपालले सन् २०२२ सम्म अन्य मुलुकको हाराहारीमा उपलब्धि हासिल गरेको उनले बताए । ‘सन् २०२२ को अडिटमा नेपालले सरदर ७० प्रतिशतको हाराहारीमा अंक हासिल गरेको छ,’ उनले भने । 

सुझावित समाचार