नेपाल विद्युत् प्राधिकरणले पछिल्लो आठ वर्षको अवधिमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ । आव ०७२/७३ मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावट भएकोमा गत आव ०८०/८१ मा घटेर १२ दशमलव ७३ प्रतिशतमा सीमित भएको छ । त्यसमा प्रसारण लाइनतर्फ ३.३३ प्रतिशत र वितरणतर्फ ९.४० प्रतिशत चुहावट रहेको विद्युत् प्राधिकरणको तथ्यांक छ । आठ वर्षअघि २५ दशमलव ७८ प्रतिशत चुहावटमध्ये १९ दशमलव ८० प्रतिशत वितरण र प्रसारणतर्फ ५.९८ प्रतिशत थियो ।
विद्युत् चुहावट आव ०७३/७४ मा २२.९० प्रतिशत, ०७४/७५ मा २०.४५ प्रतिशत, ०७५/७६ मा १५.३२ प्रतिशत, ०७६/७७ मा १५.२७ प्रतिशतमा थियो । यसैगरी, आव ०७७/७८ मा भने चुहावट बढेर १७.१८ प्रतिशत पुगेको थियो । त्यसपछि चुहावटलाई आव ०७८/७९ मा १५.३८ र आव ०७९/८० मा १३.४६ प्रतिशतमा झारिएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई थप व्यवस्थित र प्रभावकारी बनाएर नियन्त्रणमा ठूलो सफलता हासिल भएको बताए । लोडसेडिङ अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमले वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा सकारात्मक प्रभाव परेको उनले बताए ।
‘प्रणालीमा विद्युत् चुहावट हुँदा प्रत्यक्ष रूपमा अर्बौँ आम्दानी गुमिरहेको थियो, प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएका अभियानबाट वितरणतर्फको विद्युत् चुहावट उल्लेख्य रूपमा घटी यो अनुपात छिमेकी देशहरूभन्दा कम भएको छ,’ उनले भने, ‘चुहावट नियन्त्रणबाट मात्र यस अवधिमा प्रतिवर्ष करिब १२ अर्ब रुपैयाँ थप आम्दानी भएको छ । गुमिरहेको रकम उठाउन सफलता मिल्दा यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको नाफामा देखिएको छ । नाफाबाट आर्जन भएको रकमलाई प्रणाली विस्तार र सुधारमा लगानी गरिरहेका छौँ । अब चुहावटलाई एकल अंक (सिंगल डिजिट)मा झार्ने लक्ष्य राखी काम अगाडि बढाइरहेका छौँ ।’
आव ०७२/७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले आव ०७३/७४ मा एक अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । त्यसपछि निरन्तर नाफामा रहेको प्राधिकरणको नाफा गत आवमा १३ अर्ब ३१ करोड रुपैयाँ (अन्तिम लेखा परीक्षण हुन बाँकी) पुगेको छ । आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण गत आवमा ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ ।
ठूला क्षमताका प्रसारणलाइन तथा सबस्टेसन सञ्चालन, सबस्टेसन क्षमता वृद्धि तथा सुदृढीकरण, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्री फेज तथा स्मार्ट मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका कदमले प्राविधिक चुहावट नियन्त्रण भएको उनको भनाइ छ ।
चुहावटलाई एकल अंकमा झार्ने लक्ष्य छ
कुलमान घिसिङ, कार्यकारी निर्देशक,नेपाल विद्युत् प्राधिकरण
प्रणालीमा विद्युत् चुहावट हुँदा प्रत्यक्ष रूपमा अर्बौँ आम्दानी गुमिरहेको थियो, प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रण गर्न सञ्चालन गरिएका अभियानबाट वितरणतर्फको विद्युत् चुहावट उल्लेख्य रूपमा घटेको छ । यस्तो अनुपात छिमेकी देशहरूभन्दा कम भएको छ ।
चुहावट नियन्त्रणबाट मात्र यस अवधिमा प्रतिवर्ष करिब १२ अर्ब रुपैयाँ थप आम्दानी भएको छ । गुमिरहेको रकम उठाउन सफलता मिल्दा यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको नाफामा देखिएको छ । नाफाबाट आर्जन भएको रकमलाई प्रणाली विस्तार र सुधारमा लगानी गरिरहेका छौँ । अब चुहावटलाई एकल अंक (सिंगल डिजिट)मा झार्ने लक्ष्य राखी काम अगाडि बढाइरहेका छौँ ।