दशरथ रंगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता

बिहिबार, २४ साउन, २०८१
डिजिटल संस्करण

दुबो, मैदानको सतह, फ्लड लाइट र सुरक्षा व्यवस्था सुधारेपछि एएफसीले दियो दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल खेलाउने स्वीकृति

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न मान्यता पाएको छ । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न मान्यता दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) सिइओ इन्द्रमान तुलाधरले नयाँ पत्रिकालाई बताए  । ‘हामीले समयमै रंगशालाको सबै प्रक्रिया पुर्याएर एएफसीलाई पत्र पठाएका थियौँ । एएफसीले प्रतियोगिता गर्न मान्यता दिएको छ,’ तुलाधरले भने । 

अन्तर्राष्ट्रिय मापदण्ड पूरा नहुँदा र यसको उचित संरक्षण नभएपछि राष्ट्रिय खेलकुद परिषद्ले गत चैतदेखि यसको संरक्षण गर्दै आएको छ । मैदानको दुबो, मैदानको सतह, फ्लड लाइट र सुरक्षाको कारण देखाउँदै एएफसीले गत जेठमा दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो । ‘दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल आयोजना गर्न चार कारणलाई एएफसीले प्राथमिकतामा राखेको थियो । अहिले हामीले ती सबै प्रक्रिया पुर्याएर समयमै पत्र पठायौँ । त्यसैले अन्तर्राष्ट्रिय मान्यता पाएका हौँ,’ तुलाधरले भने । 

मैदान तयार नहुँदा नेपालले फिफा विश्वकप २०२६ छनोटका दुई खेल दशरथ रंगशालामा गर्न पाएन । युएईविरुद्धको यो खेल साउदी अरेबियामा खेलाइएको थियो । मैदानको जिम्मेवारी पाएका एन्फा र राखेपकै लापरबाहीका कारण बहराइन र युएईबीचको खेल हुन सकेन । विश्वकप छनोट तटस्थ मैदानमा खेल हुनुपर्नेमा नेपालले बहराइनविरुद्धको प्रतिस्पर्धा बहराइन गएर खेल्यो । एन्फाले मैदानमा आधिकारिकबाहेक विभिन्न प्रतियोगिता गर्न राखेपसँग स्वीकृत मागेको थियो । 

राखेपले रग्वीसँगै अन्य अनावश्यक प्रतियोगिता आयोजना गर्न स्वीकृत दियो । रंगशालामा विश्वकप छनोट खेल आयोजना नहुँदा तत्कालीन खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राखेपसँग स्पष्टीकरण मागेका थिए ।

९ साउनमा एएफसीका प्रतिनिधिबाट निरीक्षण
एएफसीका प्रतिनिधिले ९ साउनमा दशरथ रंगशालाको निरीक्षण तथा अवलोकन गरेका थिए । यसपटक एएफसीबाट नेपाल आएका प्रतिनिधिहरूले रंगशालामा अन्तर्राष्ट्रिय खेल आयोजना गर्न मिल्ने गरी मापदण्ड पूरा भएको प्रतिवेदन एन्फालाई दिएको हो । यससँगै अब २९ साउनमा एएफसी च्यालेन्ज लिग छनोट प्रतियोगिता रंगशालामै हुनेछ । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज र भुटानको लिग च्याम्पियन पारो एफसीबीच राति ६ बजे खेल हुनेछ । यो खेलमा पारोबाट विश्वकप खेलेका जापानिज स्टार केइसुके होन्डा पनि सहभागी हुनेछन् ।  च्यालेन्ज कप छनोटपछि रंगशालामा साफ यू–२० च्याम्पियनसिप हुनेछ । त्यसपछि रग्वी प्रतियोगिता पनि यही मैदानमा गर्न राखेपले स्वीकृत दिएको छ । 

बहराइन, युएई र यमनको खेल हुन पाएन
अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि रंगशाला अयोग्य भएपछि नेपालले ८ चैतमा तय भएको विश्वकपअन्तर्गत बहराइनबीचको दोस्रो चरण खेल गुमाएको थियो । त्यस्तै, २४ जेठमा तय युएई र नेपाल तथा २० जेठमा भएको यमनबीचको खेल पनि हुन सकेन । नेपाल बहराइनसँग पहिलो लेगमा ५–०, दोस्रो लेगमा ३–० ले पराजित हुन पुगेको थियो । त्यस्तै, युएईसँग ४–० ले पराजित हुँदा यमनसँग २–२ को बराबरी खेलेको थियो । यस विषय संसदीय समितिमा पनि उठेको थियो ।

मैदान संरक्षणमा कुनै कमी आउनेछैन : टंकलाल घिसिङ, सदस्यसचिव, राखेप
नेपाली दर्शकले फेरि रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्न पाउने भएका छन् । मैदानको रेखदेख र संरक्षणमा राखेपले निकै मिहिनेत गरेको छ । अब, मैदानको संरक्षणमा कुनै कमी आउनेछैन । 

प्रक्रिया समयमै पूरा गर्यौँ : इन्द्रमान तुलाधर, सिइओ, एन्फा
एएफसी च्यालेन्ज लिगको प्लेअफ दशरथ रंगशालामा गर्न हामीले मान्यता पाएका छौँ । अब, साफ यू–२० च्याम्पियनसिप पनि यहाँ हुनेछ । हामीले प्रतियोगिताअघि पुर्याउनुपर्ने सबै मापदण्ड समयमै पुर्याएर एएफसीलाई पत्राचार गरेका थियौँ । एएफसीले प्रतियोगिता गर्न स्वीकृत दिएको छ । 

सुझावित समाचार