नेपाल आयल निगमले चालू आव ०८१/८२ को नीति कार्यक्रमको मस्यौदा सञ्चालक समितिमा पेस गरेको छ । निगमले सरकारको नीति–कार्यक्रमलाई सघाउ पुग्ने गरी भण्डारण क्षमता वृद्धि, चुहावट नियन्त्रण, डिजिटल कारोबार, एप्स र सफ्टवेयरबाट पेट्रोलपम्प तथा ट्यांकरको नियन्त्रणलगायतका गतिविधि अघि बढाउने जनाएको छ ।
निगमले यो वर्ष त्रिभुवन विमानस्थलपरिसरमा रहेको हवाई इन्धन डिपो र रुपन्देहीको भलबारीस्थित लुम्बिनी प्रादेशिक कार्यालय स्थानान्तरलाई महत्व दिएर ठूलो बजेट राख्ने जनाएको छ । त्यस्तै, भारतीय सहयोगमा निर्माण हुने गरी सम्झौता भएको अमलेखगन्ज–चितवन पाइपलाइन, सिलगुढी–चालआली पाइपलाइन र चारआलीमा भण्डारणगृह निर्माण गर्ने विषयलाई पनि उच्च प्राथमिकतामा राखेको कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले जानकारी दिए ।
‘सरकारको नीतिअनुरूप पेट्रोलियमको आपूर्ति व्यवस्था सहज तथा लागत प्रभावी बनाउन पाइपलाइनका साथै भण्डारणगृह निर्माणको कार्यलाई निरन्तरता दिइनेछ,’ निगमले सञ्चालक समितिसमक्ष पेस गरेको प्रस्तावित मस्यौदामा भनिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपरिसरको हवाई इन्धन डिपोले असुरक्षा बढाएको भन्दै सार्न निर्देशन दिएपछि निगमले डिपो स्थानान्तरणलाई पर्याप्त बजेट राख्ने जनाएको छ । शनिबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ डिपो निर्माणका लागि प्रस्तावित जग्गाको निरीक्षणसमेत गरेर छिटो स्थानान्तरण कार्य अघि बढाउन निर्देशन दिएका छन् ।
हाल सञ्चालनमा रहेका डिपोहरूको क्रमशः क्षमता विस्तार तथा आधुनिकीकरण गर्दै लगिने नीति कार्यक्रममा समेटिएको छ । तर, डिपोको मर्मत, सुरक्षा सामग्री अपडेट र आधुनिकीकरणका लागि न्यून बजेट राखेको भन्दै सबै डिपो प्रमुखहरूले सामूहिक रूपमा असन्तुष्टि पोखेका छन् ।
पेट्रोलियम पदार्थको पूर्ण स्वचालित मूल्य प्रणालीलाई कार्यान्वयन गरेर नियमित नाफा ‘बुक’ गर्ने रणनीति पनि छ । त्यस्तै, घरेलु र व्यावसायिक प्रयोजनको ग्यासको दुई थरी मूल्य निर्धारण गर्ने कार्यक्रम समेटिएको छ । यो योजना १० वर्षदेखि लागू हुन सकेको छैन ।
भरतपुर विमानस्थलमा हवाई उडानको चाप वृद्धि भएसँगै इन्धन आपूर्तिको प्रबन्ध गर्ने निगमले जनाएको छ । अहिले भरतपुर–काठमाडौं उडान गर्ने विमानले काठमाडौंबाटै दोहोरो रुटको इन्धन बोकेर लैजाने गरेका छन् । दाङ विमानस्थलमा उपयोगविहीन रहेको हवाई इन्धन भण्डारणगृह भरतपुरमा स्थानान्तरण गरेर सेवा सुरु गर्ने निगमको योजना छ ।
सर्लाहीमा रहेको निगमको जग्गामा ग्यास भण्डारणगृह बनाइने भएको छ । सर्लाहीमा पाइपलाइनसमेत विस्तार गरेर भारतको मोतीहारीबाट पाइपाइलनकै सहायताले ग्यास ढुवानी गर्नेसमेत निगमको योजना छ । ग्यास ढुवानीमा भारतीय बुलेट प्रयोग गर्दा बर्सेनी ६ अर्ब रुपैयाँ बाहिरिएको तथा सर्लाहीमा भण्डारणगृह बनाएपछि आपूर्ति सुनिश्चितता बढ्ने र ढुवानी भाडा पनि बचत हुने निगमको भनाइ छ ।
काठमाडौं उपत्यकाको रिङरोडभित्र रहेका पेट्रोलपम्पलाई अध्ययन गरेर रिङरोडबाहिर स्थानान्तरणको प्रक्रिया सुरु गर्ने योजना निगमको छ । यी सबै योजना कार्यान्वयन गर्न आयल निगमले चालू आवका लागि ६ अर्ब ३८ करोड ६१ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।
यस्ता छन् प्रमुख योजना
- चितवनको लोथरसम्म पाइपलाइन विस्तार र ठूलो क्षमताको भण्डारणगृह बनाउने, जग्गा अधिग्रहण गर्ने
- भारतको सिलगुडीदेखि झापाको चारआलीसम्म पाइपलाइन बिछ्याउने र चारआलीमा भण्डारणगृह बनाउने
- सुर्खेतमा भण्डारणगृह निर्माण गर्ने, डिपो विस्तारका लागि जग्गा किन्ने
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षालाई ध्यान दिएर हालको डिपोलाई स्थानान्तरण गर्ने
- इन्धन ढुवानी गर्ने ट्यांकरमा बटम लोडिङ प्रणाली जडान गर्ने
- नेपालगन्ज, थानकोट र दाङ डिपोको चौहदी मिलान गर्न छेउछाउका जग्गा अधिग्रहण गर्ने
- धनगढी डिपो बस्तीबीचमा रहेकाले स्थानान्तरण गर्न जग्गा किन्ने
- सरुवाको मापदण्ड बनाउने तथा विभागीय प्रमुख, कार्यालय प्रमुख र परियोजना प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्ने
- एलपी ग्यासको दुई थरी मूल्य निर्धारण गर्ने
- भरतपुर विमानस्थलमा हवाई इन्धन स्टेसन सञ्चालन गर्ने
- भारतबाहेक अन्य देशबाट आपूर्तिकर्ता खोजिने
- सर्लाहीसम्म ग्यास बाइपलाइन विस्तार गर्ने र ग्यासको भण्डारणगृह बनाउने
- रुपन्देहीको भलबारीमा डिपोवरिपरि बस्ती विकास भएकाले रोहिणी गाउँपालिकाको धकधईमा स्थानान्तरण गर्ने, निर्माण यसै वर्ष सुरु गर्ने
- देशभर रहेका जग्गा, भौतिक संरचना, डिपो, पेट्रोलपम्म, पाइपलाइन, आदिको भौगोलिक अवस्थिति नियमन गर्न मिल्ने जिआइएस म्यापिङ सुरु गर्ने
- देशभरका पेट्रोलपम्पको लोकेसन हेर्न मिल्ने एप्स र सफ्टवेयर विकास गर्ने
- थानकोट डिपो हाताभित्र पेट्रोल भण्डारणगृह थप्ने
- चुहावट नियन्त्रण गर्न विद्यमान प्राविधिक नोक्सानीको सीमा पुनरावलोकन गर्ने
- डिजिटल लकिङ सिस्टमलाई प्रभावकारी कार्यान्वयन गर्ने