प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब माध्यमलाई पत्रकारिताको धार समात्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल युट्युबसहितबाट मिथ्या र एकपक्षीय सूचना छाइरहेको सन्दर्भमा अध्यक्ष बस्नेतले युट्युबरहरूलाई संस्थागत विकास गरी जिम्मेवार हुन आग्रह गरेका हुन् ।
सोमबार काउन्सिलले राखेकाे अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले नयाँ खुलेका अनलाइनसहित सञ्चारमाध्यमका प्रकाशक, सम्पादकलाई सम्बोधन गर्दै स्वस्थ, मर्यादित, तथ्य र जिम्मेवारपूर्ण पत्रकारिताविना विकास र समृद्धिको यात्राको संवाहक हुन नसक्नेतर्फ सबै सचेत हुनुपर्ने बताए ।
प्रेस काउन्सिलले रचनात्मक पत्रकारिता विकास र विस्तारका लागि विभिन्न मिडिया जगतसँग हातेमालो कार्यक्रम गरिरहेको उनले जानकारी दिए । काउन्सिलले पत्रकार आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्न अनलाइन र युट्युब माध्यममा कार्यरत पत्रकारलाई नियमित अभिमुखीकरण कक्षा लिँदै आएको छ ।
सोमबार स्रोतव्यक्तिका रूपमा पत्रकार पुनम पौडेलले काउन्सिलले जारी गरेका महिला, बालबालिकासहित विभिन्न सञ्चार निर्देशिका कसरी पालना गर्ने भन्ने विषयमा सहजीकरण गरेकी थिइन् । अभिमुखीकरणमा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले स्वच्छ र मर्यादित पत्रकारिताका लागि काउन्सिलले गर्दै आएका क्रियाकलापबारे प्रस्तुति राखेका थिए ।