संसदीय सुनुवाइ समितिले यौन दुर्व्यवहारको आरोप लागेका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको सुनुवाइका क्रममा सञ्चारकर्मीलाई प्रवेश निषेध गरेको छ।
संवैधानिक परिषदबाट सिफारिस प्रधानको योग्यता, क्षमता, नैतिक चरित्रबारे पारदर्शी रूपमा सुनुवाइ गर्नुपर्नेमा संसदीय समितिले अपारदर्शी रूपमा गोप्य तरिकाले सुनुवाइ थालेको हो।
प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरिसकेपछि सुनुवाइ समितिका सचिव एवं संसद्का महासचिव पदमप्रसाद पाण्डेयले आन्तरिक छलफल गर्नुपर्ने भन्दै सञ्चारकर्मीलाई बैठकबाट बाहिर पठाएका थिए।
यौन दुर्व्यवहारको आरोपमा सुनुवाइका क्रममा प्रधानले ‘अदालतले गरिसकेको निर्णय हाम्रो कानुन प्रणालीमा उल्ट्याउने स्वीकार्य छैन। यसबारेमा मलाई योभन्दा बढी केही भन्नु छैन’ भनेका थिए।
एक महिलालाई दबाब र प्रलोभन दिएर पटकपटक यौन शोषण गरेको अडियो भिडियो प्रमाणसहित प्रधानविरुद्व उजुरी परेको छ। उच्च नैतिक चरित्र भएको व्यक्ति हुनुपर्ने योग्यताविपरीत सिफारिस भएका प्रधानको सुनुवाइ सुनुवाइ समितिले बन्द कोठामा गरेको छ।
बैठकको सभापतित्व गरिरहेका समितिका ज्येष्ठ सदस्य आनन्दप्रसाद ढुंगानाले भने कार्यविधिबारे छलफल गर्नुपरेकाले केही समयलाई बाहिर पठाइएको प्रतिक्रिया दिएका छन्।