नेपाल पुलिस क्लबले ललित स्मृति एन्फा यू–१८ लिग फुटबल प्रतियोगितामा उत्कृष्ट जित निकालेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्स मैदानमा सोमबार आफ्नो पहिलो खेलमा पुलिसले थ्री स्टार क्लबविरुद्ध ७–२ को जित निकालेको हो । पुलिसलाई जित दिलाउन विक्रम गौतमले चार गोल गरेका थिए । सुवास बम, साजनराज गौतम र आदित्य ढुंगेलले समान एक गोल गरे । थ्री स्टारका लागि सनिल स्याङ्ताङ र अरुण टमाटाले गोल फर्काएका थिए ।
खेलको सातौँ मिनेटमा विक्रमले पुलिसलाई १–० को अग्रता दिलाए । खेलको १२औँ मिनेटमा सुवासले पेनाल्टीमार्फत टोलीलाई २–० को स्थितिमा राखे । त्यसपछि विक्रमले ४० र ४२औँ मिनेटमा गोल गर्दै लिगकै पहिलो ह्याट्रिक पूरा गरे । सनिलले ४६औँ मिनेटमा थ्री स्टारको गोलअन्तर ४–१ मा झारे । खेलको ५३औँ मिनेटमा विक्रमले व्यक्तिगत चौथो तथा टोलीका लागि पाँचौँ गोल गरे ।
खेलको ७५औँ मिनेटमा साजनले पुलिसलाई ६–१ ले अगाडि राखे । खेलको ८१औँ मिनेटमा अरुणले थ्री स्टारका लागि दोस्रो गोल गरेका थिए । निर्धारित समय सकिन ६ मिनेट बाँकी छँदा आदित्यले गोल गर्दै पुलिसलाई ७–२ को फराकिलो जित दिलाए ।
बराबरीमा रोकियो एपिएफ
अग्रता जोगाउन नसक्दा एपिएफ क्लब आफ्नो पहिलो जावलाखेल युथ क्लबसँग १–१ को बराबरीमा रोकिएको छ । एपिएफका लागि आयुष फुँयाल तथा जावलाखेलका लागि विवस दर्लामीले एक–एक गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा आयुषले एपिएफलाई १–० अग्रता दिलाएका थिए । खेलको ७०औँ मिनेटमा विवसले गोल गर्दै जावलाखेललाई बराबरीमा ल्याए । त्यसपछि थप गोल नहुँदा दुवै टोली अंक बाँड्न बाध्य बने ।