अन्तर्राष्ट्रिय चेन होटेलको नेपाल मोह

डेढ दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय चेन होटेल भित्रिसके, सन् २०२५ सम्ममा थप एक दर्जनभन्दा बढी ब्रान्ड आउँदै

शनिबार, ३० असार, २०८१
डिजिटल संस्करण

नेपाल भित्रिएका चेन होटेल : सिन्तामणि, हायात रिजेन्सी, म्यारियट, फेयरफिल्ड म्यारियट, हिल्टन, र्याडिसन, ताज सफारी, ताज भिभान्ता, हायात प्लेस, अलफ्ट, द फर्न, होली डे इन एक्सप्रेस, होलिडे इन, दुसित थानी, दुसित प्रिन्सेस, लेमन ट्री प्रिमियर, दी पेभिलियन्स, स्विस इन्टरनेसनल, आइटिसी फर्च्युन

नेपाल भित्रिने तयारीमा रहेका होटेल : सेराटन वा जेडब्लु म्यारियट, मक्र्योर (एक्कोर समूह), सेन्ट रिजिस, रमाडा, ले मेरिडियन, रोयल टुलिप, क्राउन प्लाजा, मोक्सी, इन्टरकन्टिनेन्टल, होटेल इन्डिगो, रोयल टुलिप, ओमात्रा होटेल

नक्सालको भगवती मन्दिरछेवैमा बेसमेन्टसहित १८ तलाको पाँचतारे ‘हिल्टन काठमाडौं’ होटेल तयार भएको छ । व्यवसायी साहिल अग्रवालले साढे आठ अर्ब रुपैयाँमा निर्माण गरेको होटेलको भोलि आइतबार सफ्ट ओपनिङ हुँदै छ । पहिलोपटक हस्पिटालिटी व्यवसायमा प्रवेश गरेका अग्रवालले होटेल सञ्चालनका लागि चर्चित अन्तर्राष्ट्रिय चेन ‘हिल्टन’ ब्रान्डलाई रोजेका छन् । नेपाली आतिथ्य सत्कार उद्योगमा अलग्यै पहिचान स्थापित गर्न हिल्टन समूहको फ्ल्यागसिप ब्रान्ड ल्याएको शंकर समूहका प्रबन्ध निर्देशक रहेका उनी बताउँछन् ।  

अमेरिकन ब्रान्ड हिल्टन भित्रिएसँगै नेपालमा अन्तर्राष्ट्रिय चेन होटेल डेढ दर्जन नाघेको छन् । यसअघि वैशाखमा भारतीय चर्चित चेन होटेल आइटिसी नेपाल भित्रिएको थियो । व्यवसायी कमल जैनले भक्तपुरको साँगामा खोलेको रिसोर्टको व्यवस्थापनमा आइटिसीको फर्च्युन ब्रान्ड आएको हो । 

यती ग्रुपले मुस्ताङको रिसोर्ट चलाउन अमेरिकन लक्जरी ब्रान्ड सिन्तामणि होटेललाई रोज्यो । गत वर्ष थाई होटेल चेन दुसित समूहका दुई चर्चित ब्रान्ड दुसित थानी र दुसित प्रिन्सेस नेपाल भित्रिए । सात वर्षअघि व्यवसायी शशिकान्त अग्रवालले ठमेलमा फेयरफिल्ड म्यारियट सञ्चालनमा ल्याएका थिए । त्यसको ठ्याक्कै दुई वर्षपछि नक्सालको पाँचतारे होटेलमा म्यारियट ब्रान्ड भित्र्याए । अहिले उनकै लगानीमा कमलादीमा तेस्रो होटेल म्यारियटकै ‘मोक्सी’ ब्रान्ड बनिरहेको छ । 

केही वर्षयता नेपालमा एकपछि अर्को गरी चेन होटेल थपिइरहेका छन् । अझै एक दर्जनभन्दा बढी चेन होटेल्स नेपाल भित्रिने तरखरमा देखिन्छन् । मोफसलका होटेलमा पनि चर्चित चेन ब्रान्डको आकर्षण देखिएको छ । सन् २०२५ सम्ममा देशभित्र अन्तर्राष्ट्रिय चेन होटेलको संख्या साढे दुई दर्जन पुग्ने होटेल एसोसिएसन नेपाल (हान)का प्रथम उपाध्यक्ष प्रवीणबहादुर पाण्डे बताउँछन् । उनी आफैँ ब्रिटिस बहुराष्ट्रिय हस्पिटालिटी कम्पनी इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आइएचजी)का दुई होटेल ब्रान्ड इन्टरकन्टिनेन्टल र इन्डिगोलाई काठमाडौं, पोखरा र मेघौलीमा निर्माण भइरहेका होटेलमा भित्र्याउँदै छन् ।  

नेपालमा अन्तर्राष्ट्रिय चेन होटेलको मोह देखिएको छ । होटेल व्यवसायमा नयाँ प्रवेशीहरूले विदेशी ब्रान्ड रोजिरहेका छन् । पछिल्लो समय होटेल व्यवसायीहरू विदेशी चेन भित्र्याउने प्रतिस्पर्धा नै गरिरहेका छन् । विश्वकै लक्जरी होटेल ब्रान्ड पनि नेपाल आउन आतुर देखिन्छन् । विश्वव्यापी सञ्जाल फैलिएका चेनहरू भित्रिँदा नेपालको संसारभर निःशुल्क प्रचारप्रसार हुने म्यारियट होटेलका सञ्चालक अग्रवालको बुझाइ छ । 

नेपालमा चेन होटेल ब्रान्डहरू म्यारियट, सिन्तामणि, हायात रिजेन्सी, फेयरफिल्ड म्यारियट, र्याडिसन, ताज सफारी, ताज भिभान्ता, हायात प्लेस, अलफ्ट, द फर्न, होलिडे इन एक्सप्रेस, होलिडे इन, दुसित थानी, दुसित प्रिन्सेस, क्राउन इम्पेरियल, लेमन ट्री प्रिमियर, दी पेभिलियन्स, स्विस इन्टरनेसनल, फर्च्युन (आइटिसी), हिल्टन नेपालमा आइसकेका छन् । केही वर्षभित्र सेराटन वा जेडब्लु म्यारियट, सेन्ट रिजिस, रमाडा, मक्र्योर, ले मेरिडियन, रोयल टुलिप, क्राउन प्लाजा, मोक्सी, इन्टरकन्टिनेन्टल, इन्डिगो, रोयल टुलिपलगायत ब्रान्ड आउने तयारीमा छन् । 

नेपालमा अन्तर्राष्ट्रिय चेनहरू अपार सम्भावना देखेर आएको म्यारियटका सञ्चालक अग्रवाल बताउँछन् । ‘नेपाल अन्डर सोल्ड कन्ट्री हो, कुनै वर्ष ५० लाख पर्यटक भित्रिने सम्भावना उनीहरूले देखेका छन्, त्यति पर्यटक ल्याउने पर्याप्त सम्भवना पनि छ, उनले भने, ‘विदेशी चेन आउँदा नेपालबारे सकारात्मक सन्देश जान्छ, सेवाको क्वालिटी र मूल्य स्थिरतामा पनि चेनको महत्वपूर्ण भूमिका रहन्छ ।’ शेर्पा हस्पिटालिटी ग्रुपको मार्केटिङ म्यानेजर एलिना सेनले अन्तर्राष्ट्रिय ब्रान्डले नेपाललाई ग्लोबल म्यापमा सोकेस गर्ने बताइन् । उनले भनिन्, ‘अन्तर्राष्ट्रिय चेनहरू आउँदा स्थानीय अर्थतन्त्रमा योगदान पुग्छ, स्वदेशमा हाई भेल्यु रोजगारी सिर्जना हुन्छ साथै दिगो विकासमा पनि मद्दत पुग्छ।’ 

अन्तर्राष्ट्रिय चेनहरूको विश्वभर आफ्नै नेटवर्क हुने र ठुल्ठूला ट्राभल एजेन्सीसँग सहकार्य पनि हुने हुँदा उनीहरूले नेपालमा पर्यटक फ्लो बढाउन सक्ने अलफ्ट होटेलका निर्देशक सुमन पाण्डेले बताए । ‘विदेशी ब्रान्ड भित्रिँदा देशको इमेज पनि परिवर्तन हुन्छ, विदेशी लगानी ल्याउन पनि सहज हुन्छ,’ उनले भने ।

सोल्टीबाट सुरुवात, म्यारियट बन्यो बेन्चमार्क
नेपालमा पहिलो अन्तर्राष्ट्रिय चेन भित्र्याउने श्रेय पाँचतारे सोल्टी होटेललाई जान्छ । सोल्टीले सन् १९६९ मै भारतीय चेन होटेल ब्रान्ड ओवरायलाई भित्र्याएको थियो । पछि, ओवरायले आफ्नो हिस्सा बिक्री गरेर बाहिरिएको थियो । यसबीचमा भित्रिएका सेराटन, ले मेरिडियन, आइटिसी, क्राउन प्लाजालगायत होटेल ब्रान्ड फिर्ता भएका थिए । हायात रिजेन्सी र र्याडिसन पनि पहिल्यै नेपाल भित्रिएका हुन्, जसले अहिले पनि पाँचतारे होटेल व्यवस्थापन गरिरहेका छन् । 

नेपालमा विदेशी चेन होटेल भित्रिन थालेको दशकौँ भइसकेको छ । तर, पहिला यति धेरै चेनको लहर थिएन । होटेल व्यवसायमा नयाँ अनुहार आउन थालेपछि अन्तर्राष्ट्रिय चेनको नेपाल प्रवेश बढ्न थालेको हो ।

एमएस ग्रुपले नक्सालमा पाँचतारे म्यारियट होटेल सञ्चालनमा ल्याएपछि धेरैको नजर चेनतर्फ मोडिएको छ । अमेरिकी प्रख्यात चेन होटेल ग्रुप म्यारियट इन्टरनेसनलको प्रिमियम ब्रान्ड हो, ‘म्यारियट’ । यो होटेल आउनुअघि नेपालमा क्राउन प्लाजा, हायात रिजेन्सी, र्याडिसन, ताजलगायत केही विदेशी ब्रान्ड मात्र थिए । म्यारियट भित्रिएपछि विदेशी चेन ब्रान्डको कुल संख्या डेढ दर्जन नाघिसकेको छ । अब म्यारियटभन्दा पनि माथिल्लो स्तरका होटेल ब्रान्ड सेन्ट रिजिस र जेडब्लु म्यारियट नेपाल आउने गृहकार्यमा छन् ।  

आइएचजीका आधा दर्जन ब्रान्ड पुग्दै
बेलायती चेन होटेल कम्पनी इन्टरकन्टिनेन्टल होटेल ग्रुप (आइएचजी)का आधा दर्जन ब्रान्ड नेपाल भित्रिँदै छन् । अहिले नक्सालमा होलिडे इन एक्सप्रेस खुलिसकेको छ । यसअघि सोल्टीबाट बाहिरिएको क्राउन प्लाजालाई अरुण चौधरीले पुल्चोकमा निर्माण गरिरहेको पाँचतारे होटेलको व्यवस्थापनमा ल्याउँदै छन् । 
बुढानीलकण्ठ र भैरहवामा निर्माण भइरहेका दुईवटा पाँचतारे होटेलमा आइएचजीकै होलिडे इन आउँदै छ । सांग्रिला होटेल्स एन्ड रिसोर्ट ग्रुपले लाजिम्पाटको पुरानो पाँचतारे सांग्रिला होटेलको धमाधम स्तरोन्नति गरिरहेको छ । यस्तै, पोखराको घारीपाटमा सञ्चालित सांग्रिला रिसोर्टको पनि स्तरोन्नतिको काम जारी छ । ग्रुपले बेगनास तालमाथिको पचभैया डाँडा र चितवनको मेघौलीमा लक्जरी रिसोर्ट सञ्चालनमा ल्याउँदै छ । यी होटेल र रिसोर्टमा बहुराष्ट्रिय कम्पनी आइएचजीलाई भित्र्याउने सम्झौता गरिसकेको छ । लाजिम्पाटको सांग्रिला, बेगनास र मेघौलीको रिसोर्टमा इन्टरकन्टिनेन्टल ब्रान्ड आउँदै छ । घारीपाटको होटेलमा इन्डिगो ब्रान्ड आउनेछ ।

फैलिँदै ताज, हायात र र्याडिसन  
भारतको चर्चित घराना टाटा समूहका चेन होटेल कम्पनी ताजका दुईवटा ब्रान्ड नेपाल भित्रिसकेका छन् । विनोद चौधरीले चितवनको मेघौली सेराइ रिसोर्टमा ताज सफारीलाई भित्र्याएका छन् । उनैले झम्सिखेलको होटेलमा ताजकै भिभान्ता ल्याए । यस्तै, चितवनको भारतपुरमा पनि भिभान्ता आउँदै छ । उनले ताज समूहसँग नेपालसहित श्रीलंका, माल्दिभ्स, भारत, दुबईलगायत देशमा सहकार्य गरेका छन् । 

नेपालमा हायात ब्रान्डको प्रवेश भएको वर्षौँ भयो । राधेश्याम सराफले बौद्धको पाँचतारे होटेलमा हायात रिजेन्सी ब्रान्ड ल्याएका हुन् । यो होटेलको पनि स्तरोन्नति गरेर ग्रान्ड हायात ब्रान्डलाई ल्याउने तयारी भइरहेको छ । व्यवसायी पवन गोल्यानले सोल्टीमोडमा खोलेको पाँचतारे होटेलको व्यवस्थापनमा हायात प्लेसलाई रोजेका छन् । 

लाजिम्पाटमा अमेरिकन चेन र्याडिसन पहिल्यै सञ्चालनमा छ । व्यवसायी एवं एमाले नेता मोती दुगडले विराटनरगमा निर्माण गरिरहेको पाँचतारे होटेलमा पनि र्याडिसन लैजाने सम्झौता गरेका छन् ।

साढे आठ अर्बमा हिल्टन तयार 
व्यावसायिक घराना शंकर समूहको लगानीमा नक्सालमा पाँचतारे हिल्टन होटेल सञ्चालनमा आउँदै छ । १८ तले होटेल २८ जुलाईदेखि पूर्ण क्षमतामा सञ्चालनमा आउने सञ्चालक साहिल अग्रवालले बताए । एक सय ७२ कोठा रहने होटेलको टपमा रुफटप स्विमिङ पुल छ । ‘हामीले नेपालमै अलग्गै डिजाइनको होटेल तयार पारेका छौँ, ग्राहकका लागि अलग्गै एक्सपेरियन्स हुनेछ,’ उनले भने, ‘होटेलमा फुड, सर्भिस, कोठा र आतिथ्य सत्कार पनि अलग्गै खालको हुनेछ ।’ होटेलमा चारवटा विभिन्न स्वाद पस्किने रेस्टुराँ तयार पारिएको उनले जानकारी दिए । ‘दोस्रो चरणमा ठूलो ब्यांक्वेट हल, क्यासिनो र दुईवटा रेस्टुरेन्ट थपिनेछन्, त्यसमा थप एक सय करोड लगानी हुनेछ,’ उनले भने ।

कहाँ–कहाँ छन् अन्तर्राष्ट्रिय चेन होटेल ?
गत वर्ष थाइल्यान्डको चर्चित हस्पिटालिटी ग्रुप दुसित नेपाल भित्रियो । काभ्रेको धुलिखेलमा दुसित थानी हिमालय रिसोर्ट खुलेको छ भने लाजिम्पाटमा दुसित प्रिन्सेस काठमाडौं खुलेको छ । दुवै पाँचतारे होटेल हुन् । यस्तै, भारतीय लेमन ट्री होटेलले बुढानीलकण्ठमा पाँचतारे लेमन ट्री प्रिमियर सञ्चालनमा ल्याएको छ । विराटनगरमा शुभ इन्टरनेसनल हस्पिटालिटीले डेढ अर्ब रुपैयाँ लगानीमा ८० कोठाको पाँचतारे लेमन ट्री प्रिमियर होटेल सञ्चालनमा ल्याउँदै छ । 

भारतमा ३० भन्दा बढी होटेलको व्यवस्थापन गरिरहेको ओमात्रा होटेल नेपाल भित्रिने भएको छ । परासीमा निर्माण भइरहेको चारतारे होटेलको व्यवस्थापनमा ओमात्रा आउने भएको हो । पोखरामा अन्तर्राष्ट्रिय चेन दी पेभिलियन्स र स्विस इन्टरनेसनल भित्रिसकेका छन् । ब्रिटिस नागरिक डगलसले पोखराको पुम्दीभुम्दी क्षेत्रमा दी प्याभिलियन हिमालयज द फार्म र दी प्याभिलियन हिमालयन लेक भ्यु टेन्टेड क्याम्प सञ्चालन गरिरहेका छन् । प्रा.डा. भरतराज पहारीका दाजुभाइले सञ्चालनमा ल्याएको सरोवर होटेलको व्यवस्थापनमा स्विस इन्टरनेसनल ब्रान्ड आएको हो । 

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं महासंघकै पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेतले एकैपटक दुईवटा चेन ब्रान्ड ल्याउँदै छन् । काठमाडौंको सुकेधारामा निर्माण गरिरहेको होटेलमा मक्र्यौर ब्रान्ड ल्याउँदै छन् । यस्तै, उनकै लगानीमा इटहरीमा निर्माण भइरहेको होटेलमा अमेरिकन विन्डमको रमाडा ब्रान्ड आउँदै छ । गैरआवासीय नेपाली रामेश्वर शाहले चितवनमा निर्माण गरिरहेको लक्जरी रिसोर्टको व्यवस्थापनमा रोयल टुलिप ब्रान्डलाई भित्र्याउँदै छन् । 

अन्तर्राष्ट्रिय ब्रान्ड आउँदा देशको निःशुल्क प्रचार हुन्छ : शशिकान्त अग्रवाल सञ्चालक, म्यारियट होटेल
नेपालमा विदेशी चेन भिर्याउने ट्रेन्ड सेटर म्यारियट हो । नेपालबाट धमाधम विदेशी चेन बाहिरिरहेका वेला मैले म्यारियट भित्र्याउने जमर्को गरेको थिएँ । र, जमर्को राम्रो पनि भयो । अहिले जुन अकुपेन्सी र रेट कायम छ, त्यो म्यारियटकै कारण सम्भव भएको हो । विदेशी चेनले नेपालको सित्तैमा प्रचारप्रसार गरिदिन्छन् । आफ्नो विश्वव्यापी सञ्जालमार्फत मार्केटिङ गरेर विश्वभरका पर्यटक नेपाल भित्र्याउन पहल गर्छन् । 

नेपाल अन्डरसोल्ड कन्ट्री हो । यसलाई बिक्री गर्न मार्केटिङ गर्नै सकेका छैनौँ । नेपाल राम्रो छ, तर भाइब्रेन्ट ल्याउनै सकेनौँ । अझै १० लाख पर्यटकका लािग संघर्षरत छौँ । विदेशी चेनले अहिले नेपालमा थोरै पर्यटक आइरहेका छन् । कुनै न कुनै वर्ष ५० लाख पर्यटक पुग्ने सम्भावना देखेका छन् । यसैले विदेशी चेन नेपाल आइरहेका हुन् । विदेशी चेन आउँदा नेपालबारे सकारात्मक सन्देश जान्छ । फेरि एउटा होटेल नचलेको भए अरू ब्रान्ड किन आउँथे । म्यारियटकै कुरा गर्दा, सुरुमा फेयरफिल्ड आयो, त्यसपछि म्यारियट र अलफ्ट आए । मोक्सी, ले मेरिडियन, सेराटन आउँदै छन् । सेन्ट रिजिस र जेडब्लु म्यारियट पनि आउने हल्ला चलिरहेको छ । यो सकारात्मक हो ।

यदि मैले म्यारियट नल्याएको भए यो लेबलको होटेल चलाउन सक्ने थिएन । हामी होटेलियर होइन, अनुभव पनि थिएन । होटेलको ग्ल्यामरबाट अट्र्याक्ट भएर लगानी गरेका हौँ । नयाँ होटेलियर भएकाले व्यवस्थापनमा भेरियट ल्यायौँ । राम्रो भइरहेको छ । अहिले म्यारियटको अकुपेन्सी पनि राम्रो छ । मलाई लाग्छ, विदेशी ब्रान्डले थप नयाँ बजार खोज्छन् । पर्यटनमा नयाँ आयाम थप्छन् । 

अन्तर्राष्ट्रिय चेन भित्रिँदाका फाइदा
१) नेपाली होटेल तथा रिसोर्टमा सेवा–सुविधाको गुणस्तर बढाउन मद्दत गर्छन् । त्यस्तै, विश्वव्यापी सञ्जाल प्रयोग गरेर पर्यटक पनि भित्र्याउँछन् ।
२) सेवा–सुविधामा कुनै सम्झौता गर्दैनन् । होटेलका सेवा–सुविधाको मूल्य पनि उनीहरूकै स्ट्यान्डर्डअनुसार तय गर्छन् ।  
३) नेपालको निःशुल्क विश्वभर प्रचारप्रसार गरिदिन्छन् । ठूला विदेशी चेनहरू आउँदा नेपालबारे सकारात्मक सन्देश जान्छ ।
४) अन्तर्राष्ट्रिय चेन आउँदा नेपालमा गुणस्तरीय पर्यटन प्रवद्र्धनमा सघाउ पुग्छ । साबिकको भन्दा धेरै पर्यटक आगमन वृद्धि गर्न मद्दत मिल्छ ।
५ अन्तर्राष्ट्रियस्तरको हस्पिटालिटी सिकाउँछन् । टेक्नोलोजी ट्रान्सफरदेखि नेपाली कर्मचारीले सीप र दक्षता पनि सिक्न पाउँछन् । यस्तो अनुभव लिएर नेपाली कम्पनीले नै होटेल म्यानेजमेन्ट गर्न सक्षम हुन्छन् ।
७) अन्तर्राष्ट्रिय चेनले होटेल व्यवस्थापन गरिदिने भएपछि नयाँ लगानीकर्तालाई पनि हस्पिटालिटी बिजनेसमा प्रवेश गर्न प्रोत्साहन मिल्छ ।  

See More On

सुझावित समाचार