धनगढी/ पाकेर काट्ने वेला भएको कैलालीका किसानको धानबालीमा वर्षाले क्षति पुर्याएको छ । बुधबार बिहानसम्म परेको अविरल वर्षाले किसानको खेतबारीमै काटेर राखिएको तथा काट्न तयार भएको धानबालीमा क्षति पुगेको हो । पाकेको धानमा वर्षाका कारण पाँच–सात प्रतिशतसम्म क्षति पुगेको कृषि ज्ञान केन्द्र, कैलालीको अनुमान छ ।
धनगढी बोराडाँडीकी कलशादेवी धानुकले काटेर सुकाउन जमिनमै छाडेको १० कट्ठा धान खेतमै डुबानमा परेको बताइन् । धानमा क्षति पुगेपछि उनी कसरी गुजारा चलाउने भन्ने चिन्तामा छिन् । ‘रोपेको सबै धान काटेर खेतमै थियो । वर्षाले डुबानमा परेको छ,’ उनले भनिन्, ‘आम्दानीको अरू बाटो छैन । लगाएको धान पनि भित्र्याउन नपाएपछि कसरी गुजारा गर्ने भन्ने चिन्ता छ ।’
बोराडाँडीकै डम्बरा विष्टको पनि पाँच कट्ठा जमिनको काटेर सुकाउन राखेको धान डुबानमा परेर नष्ट भएको छ । धान काटेलगत्तै पानी परेर खेत नै डुबाएकाले सबै धान नष्ट भएको उनले गुनासो गरिन् । ‘पानीले डुबाएर छाडेको धान अब कसरी उठाएर राख्नु ? मिहिनेत र लगानी सबै खेर गयो,’ उनले भनिन् । कितपय किसानको धान जमेको पानीमा डुबेकाले खेतमै उम्रने र सड्ने भइरहेको छ । धान जोगिहाले पनि गुणस्तर राम्रो छैन । अर्कातिर पानीमा डुबेको धानको पाँजाको परालसमेत राम्रो नहुने गरी बिग्रिएको छ ।
मौसम तथा जलवायु कार्यालय अत्तरियाले वर्षाको पूर्वानुमान सार्वजनिक गर्दै किसानलाई धान नकाट्न सूचित गरेको थियो । पाकिसकेको धान लामो समयसम्म खेतमा राख्ने जोखिम उठाउनुको सट्टा केही किसानले काटेर पाँजा फिजाएका थिए । कतिपय किसानले धान नकाटे पनि भारी वर्षा र हावाहुरीले बोट नै ढालेर सोत्तर बनाएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार वर्षाले जिल्लाभरमा काटिसकेको धानमध्ये करिब १५ प्रतिशतमा क्षति पुर्याएको छ । मेसिन प्रयोग गरेर धान काटेका किसानले भने धान भित्र्याइसकेको ज्ञान केन्द्रले जनाएको छ । काटेर खेतमा सुकाउन राखेको तथा पाकेको धानमा वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि प्रसार अधिकृत टेकबहादुर विष्टले जानकारी दिए ।
उनका अनुसार कैलालीमा रोपेको करिब ६० प्रतिशत धान अहिले पाकेको छ । किसानले धान काटेर भित्र्याउन थालेका छन् । ‘पाकेको धान कतिपय ठाउँमा वर्षाले ढलेको छ । कहीँ काटेर खेतमै छाडेको अवस्थामा डुबानमा परेर क्षति भएको छ,’ उनले भने, ‘मेसिनहरू प्रयोग गरेर धान काटेका किसानले भने भित्र्याउन पाएका छन् ।’