इन्टरनेट शुल्क वृद्धि गर्न कुनै स्वीकृति दिएका छैनौँ : दूरसञ्चार प्राधिकरण

शनिबार, २४ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/  नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा इमेल सेवाको शुल्क वृद्धि गर्ने सम्बन्धमा कुनै स्वीकृति नदिएको स्पष्ट पारेको छ। विभिन्न सञ्चारमाध्यममा इन्टरनेट सेवा शुल्क वृद्धि भएको भन्दै प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्राधिकरणले शुल्क बढाउने कुनै प्रस्तावसमेत प्राप्त नभएको जनाएको हो।

प्राधिकरणले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा इन्टरनेट सेवा प्रदायकहरूबाट सेवा शुल्क वृद्धि गर्ने प्रस्ताव नआएको र प्राधिकरणले पनि शुल्क वृद्धि गर्न स्वीकृति नदिएको उल्लेख गरेको छ।

प्राधिकरणका अनुसार दूरसञ्चार सेवा प्रदायकले सेवा उपलब्ध गराएबापत लिने शुल्क उचित र मनासिब हुनुपर्नेछ। सेवा प्रदायकले शुल्कको दर निर्धारण गर्दा प्राधिकरणले तोकेको निर्देशिकाअनुसार तयार गरी लागू हुने मितिसमेत उल्लेख गरेर कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि प्राधिकरणमा पेस गर्नुपर्ने व्यवस्था छ।

त्यसैगरी, प्राधिकरणबाट स्वीकृत सेवा शुल्क अनिवार्य रूपमा तोकिएबमोजिम सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको विज्ञप्तिमा जनाइएको छ।

प्राधिकरणले स्वीकृत दरभन्दा बढी शुल्क लिने, स्वीकृतिबिना शुल्क वृद्धि गर्ने वा ग्राहकलाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने सेवा प्रदायकमाथि दूरसञ्चार ऐन तथा नियमावलीबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

इन्टरनेट सेवा प्रदायकले स्वीकृत दरभन्दा बढी शुल्क लिएको वा गैरकानुनी रूपमा सेवा सञ्चालन गरी उपभोक्ताको हकहितविपरीत कार्य गरेको पाइएमा प्राधिकरणमा गुनासो गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ।

उपभोक्ताको हकहित संरक्षण गर्नुका साथै स्वच्छ प्रतिस्पर्धा कायम गरी इन्टरनेट सेवालाई नियमित र व्यवस्थित बनाउन प्राधिकरण प्रतिबद्ध रहेको जनाएको छ।

प्राधिकरणका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उपभोक्तालाई स्वीकृत शुल्कबारे सचेत रहन र अनधिकृत शुल्क असुली भएमा उजुरी गर्न आग्रह गरिएको छ।

सुझावित समाचार