महोत्तरी/कोरिया–नेपाल सहयोग कार्यक्रम (कोपिया)अन्तर्गत महोत्तरीको भंगहा नगरपालिकामा सञ्चालित धानसम्बन्धी कार्यक्रमको स्थलगत अनुगमन गरिएको छ । अनुगमन टोलीले विभिन्न धानका जातको बाली अवस्था, उत्पादन सम्भावना तथा किसानको अनुभव र प्रतिक्रियाबारे जानकारी लिएका छन् ।
अनुगमन टोलीले नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र, हर्दिनाथको कार्यान्वयनमा सञ्चालित परियोजनाअन्तर्गत भंगहा नगरपालिकामा सञ्चालनमा रहेको किसान सहभागितामूलक जात छनोट परीक्षण, जातीय प्रदर्शन प्लट, बिउ उत्पादन तथा मिनिकिट वितरणलगायतका कार्यक्रम सञ्चालनमा रहेकोमा कार्यक्रमको उपलब्धि बुझ्न अनुगमन गरेको कोपिया परियोजना प्रमुख तथा अनुसन्धान केन्द्रको वैज्ञानिक डा. पल्लवी सिंहले बताइन् ।
उनले भंगहा नगरपालिकाका किसान रामबहादुर यादवको खेतमा सञ्चालित किसान सहभागितामूलक जात छनोट परीक्षण तथा प्रदर्शन प्लटमा हार्दिनाथ–६, साम्बा मन्सुली सब–१, सुखा धान–३ र हार्दिनाथ–१ लगायतका धानका जात लगाइएको बताइन् ।
प्रदर्शन र अनुगमनका क्रममा विशेषगरी हर्दिनाथ–१ छिटो पाक्ने जातका रूपमा खेतमा राम्रो अवस्थामा देखिएको पाइएको छ । परियोजना प्रमुख डा. सिंहले हर्दिनाथ–१ पाकिसकेर काट्ने अवस्थामा पुगिसकेको बताइन् । किसानले हार्दिनाथ–१ को छिटो पाक्ने गुण तथा खेतमा देखिएको राम्रो प्रदर्शनप्रति सकारात्मक प्रतिक्रिया दिएको बताइन् । आगामी वर्षदेखि यस जातलाई थप क्षेत्रफलमा विस्तार गरी खेती गर्ने इच्छासमेत किसानले अनुगमन टोलीसँग व्यक्त गरेका छन् ।