अछाम जिल्ला अदालतमा ६६ प्रतिशत मुद्दा फर्स्योट

शनिबार, ३० असार, २०८१
डिजिटल संस्करण

अछाम जिल्ला अदालतमा यस वर्ष ६६ प्रतिशत मुद्दा फर्स्योट भएका छन्। आर्थिक वर्ष ०८०/८१ मा अदालतमा दर्ता भएका मुद्दाको अवस्थाबारे पत्रकार भेटघाटका क्रममा उक्त जानकारी दिइएको हो।

यो जिल्लामा मुद्दा फैसलाको अवस्था अघिल्लो वर्षकै हाराहारीमा नै देखिन्छ। अघिल्लो वर्ष र यो आर्थिक वर्षको तुलना गर्दा फर्स्योट भएका मुद्दाको अवस्था करिब उस्तै रहेको जिल्ला अदालत अछामका स्रेस्तेदार शंकरप्रसाद अधिकारीले जानकारी दिए।   

जिल्लामा यस वर्ष देवानी तथा फौजदारीलगायतका एक सय एक थान मुद्दा दर्ता भएको देखिन्छ। जसमध्ये ५४ मुद्दा फर्स्योट भएका छन्। यो आर्थिक वर्षका फर्स्योट हुन बाँकी ४७ मुद्दा अर्को वर्षका लागि जिम्मेवारी सारिएको छ।

तर, जिम्मेवारी सरेकामध्ये पनि केही मुद्दाहरू असार ३१ सम्म फैसलाको तयारीमा रहेको जिल्ला न्यायाधीश प्रकाश ढुंगानाले बताए। ‘बाँकी मुद्दा पनि चाँडै फर्स्योटको प्रक्रियामा रहेका छन्,’ ढुंगानाले भने, ‘सर्वसाधारणले सहज रूपमा न्याय पाऊन् भन्ने हाम्रो चासो रहेको छ।’

पत्रकार भेटघाटमा जिल्ला न्यायाधीश ढुंगानाले अन्य जिल्लाको तुलनामा अत्यन्तै न्यून मुद्दा आउने गरेको र तीमध्ये थोरै लम्बिए पनि अधिकांश मुद्दा लक्ष्यअनुसार नै फैसला भइरहेको बताए। 

अदालतको तथ्यांकअनुसार गत वर्ष अछाम जिल्ला अदालतमा जम्मा एक सय ८० मुद्दा दर्ता भएका थिए। जसमा जिम्मेवारी सरेर आएका ५१ मध्ये ४७ र यो वर्ष दर्ता भएका एक सय एक मध्ये ५४ गरी अहिलेसम्म एक सय एक मुद्दा फैसला भएका छन्। अब गत वर्षका चार र यो वर्षका ४७ गरी ५१ मुद्दा फर्स्योट हुन बाँकी छन्।  

अदालतका अनुसार अहिले एकजना महिला बहुविवाह मुद्दामा थुनामा छिन् भने दुई नाबालकलाई सुधारगृहमा पठाइएको र एक नाबालकलाई अभिभावकको जिम्मा लगाइएको छ।

त्यस्तै, यो वर्ष अदालतको अवहेलना गरेको आरोपमा एउटा मुद्दा दर्ता भएको छ। अछाममा जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, मालपोत र स्थानीय न्यायिक समितिजस्ता अर्धन्यायिक निकायबाट भने यो वर्ष कुनै पनि मुद्दा अदालतमा पुनरावदेन गरिएको छैन।
 

See More On

सुझावित समाचार