बागमतीमा मध्य असारसम्म १९.२४ प्रतिशत मात्रै रोपाइँ

आइतबार, १७ असार, २०८१
डिजिटल संस्करण

बागमती प्रदेशमा असारको मध्यतिर आइपुग्दा जम्मा १९.२४ प्रतिशत मात्रै रोपाइँ भएको छ । प्रदेशका अधिकांश स्थानमा समयमै पानी नपर्दा सोचेअनुरूपको रोपाइँ हुन नसकेको कृषि तथा पशुपक्षी मन्त्रालय बागमती प्रदेशले जनाएको छ । गत वर्ष यही अवधिमा बागमती प्रदेशमा झन्डै २२ प्रतिशत रोपाइँ भइसकेको थियो ।  

मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार बागमतीका १३ जिल्लामा कुल एक लाख १४ हजार पाँच सय ६१ हेक्टर जमिनमा धानखेती हुने गरेको छ । १४ असारसम्म २२ हजार ४४ हेक्टर क्षेत्रफल अर्थात् १९.२४ प्रतिशत रोपाइँ भएको छ । प्रदेशका १३ जिल्लामा सबैभन्दा बढी काभ्रेमा ३४.३० प्रतिशत रोपाइँ सकिएको उनले जानकारी दिए । धान रोपाइँ हुने कुल क्षेत्रफल १० हजार एक सय आठ हेक्टर रहेको काभ्रेमा अहिलेसम्म जम्मा तीन हजार चार सय ६७ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । यस्तै, सबैभन्दा कम रोपाइँ रामेछापमा जम्मा ५ प्रतिशत मात्रै भएको छ । यहाँ सात हजार आठ सय ५९ हेक्टर क्षेत्रफलमा धान रोप्ने गरिएको भए पनि यस वर्ष अहिलेसम्म यहाँ जम्मा तीन सय ९३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।

मन्त्रालयका अनुसार मकवानपुरमा नौ हजार चार सय ५० हेक्टर जमिनमध्ये १२ प्रतिशत अर्थात् एक हजार एक सय ३४ हेक्टर क्षेत्रफलमा, २४ हजार दुई सय ४७ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको चितवनमा १४ प्रतिशत अर्थात् जम्मा तीन हजार नौ सय ९४ हेक्टरमा, नुवाकोटमा ११ हजार ६ सय १२ हेक्टर जमिनमध्ये १२.३५ प्रतिशत अर्थात् एक हजार चार सय ३५ हेक्टर जमिनमा धान रोपाइँ सकिएको छ । 

यस्तै, सिन्धुपाल्चोकमा आठ हजार सात सय ८२ हेक्टरमध्ये २९.१० प्रतिशत अर्थात् दुई हजार पाँच सय ५३ हेक्टरमा, दोलखामा दुई हजार आठ सय १४ हेक्टर जमिनमध्ये ८ प्रतिशत अर्थात् दुई सय २५ हेक्टर जमिनमा, सिन्धुलीमा ११ हजार एक सय ८८ हेक्टर जमिनमध्ये ३३ प्रतिशत अर्थात् तीन हजार ६ सय ९२ हेक्टर जमिनमा र धादिङमा १३ हजार ६ सय हेक्टर जमिनमध्ये दुई हजार आठ सय ८५ हेक्टर अर्थात् २१.२२ प्रतिशत जमिनमा धान रोपाइँ सकिएको छ ।  

See More On

सुझावित समाचार