संघीय संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, एमाले अध्यक्ष केपी ओली, अर्थमन्त्री वर्षमान पुनसँग आइतबार बालुवाटारमा छलफल गरेपछि समिति गठन गरेका हुन् । समितिमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी सदस्य छन् ।
समितिले आइतबारै आन्दोलनरत कर्मचारीसँग छलफल गरेको छ । ‘कर्मचारीको माग केही हदसम्म पूरा गर्न अर्थ मन्त्रालय सहमत छ,’ समिति संयोजक गिरीले भने, ‘कर्मचारीको जुन अपेक्षा छ, त्यसमा अधिकतम सम्बोधनका लागि वातावरण बनाउँछौँ । कर्मचारीहरू पनि देशको परिस्थितिलाई बुझेर लचिलो बन्नुपर्छ ।’
संसद् सचिवालयका कर्मचारीहरू कार्यालय समयभन्दा अतिरिक्त कामको प्रोत्साहन भत्ता पाउनुपर्ने, ०६४ मा निर्धारण गरिएको घरभाडालगायत सुविधा समयानुकूल बनाउनुपर्नेलगायत ११ बुँदे माग राखेर जेठ तेस्रो सातादेखि आन्दोलनमा छन्।