आइसिसी टी–२० विश्वकप : अफगानिस्तानसँग अस्ट्रेलिया स्तब्ध

सोमबार, ११ असार, २०८१
डिजिटल संस्करण
आइसिसी टी–२० विश्वकप : अफगानिस्तानसँग अस्ट्रेलिया स्तब्ध

पूर्वविजेता अस्ट्रेलियालाई २१ रनले स्तब्ध बनाएपछि अफगानिस्तानका खेलाडी ।

अफगानिस्तानले पूर्वविजेता अस्ट्रेलियामाथि आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर एटको खेलमा सनसनपूर्ण जित निकालेको छ । सेन्ट भिसेन्ट मैदानमा आइतबार भएको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले स्तब्ध बनायो । अफगानिस्तानले पहिलोपटक अस्ट्रेलियालाई कुनै पनि फम्यार्टमा हराएको हो । जितसँगै समूह १ मा अफगानिस्तानले सेमिफाइनल आशा जीवितै राखेको छ ।

दुवै टोलीले दुई खेलबाट २ अंक जोडेका छन् । हारसँगै यस समूहबाट भारत, अस्ट्रेलिया र अफगानिस्ताबीच सेमिफाइनलका लागि त्रिकोणात्मक दौड बनेको छ । यस समूहबाट अन्तिम चारमा पुग्ने दुई टोलीको छिनोफानो अन्तिम खेलबाट हुनेछ । अस्ट्रेलियाले भारतको सामना गर्नेछ । अफगानिस्तानले अन्तिम खेलमा बंगलादेशविरुद्ध खेल्नेछ । 

अस्ट्रेलियाविरुद्ध शतकीय साझेदारी
सन् २०२१ को विजेताविरुद्ध अफगानिस्तानले पहिलो ब्याटिङ गर्दै ओपनिङको उत्कृष्ट साथ पायो । विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्वाज र इब्राहिम जार्दानले पहिलो विकेटका लागि १५.५ ओभरमा ११८ रनको साझेदारी गरेका थिए । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा पहिलोपटक विपक्षीको पहिलो विकेट लिन १५ ओभरसम्म खेल्नुपरेको हो । शतकीय साझेदारी भए पनि अफगानिस्तानको रनरेट औसत थियो । 

मार्कोस स्टोनिसले अफगानिस्तानको ओपनिङ तोडेका थिए । उनले ओपनर गुर्वाजलाई डेभिड वार्नरबाट क्याच आउट गराए । गुर्वाजले ४९ बलमा समान चार चौका र छक्का प्रहार गरी सर्वाधिक ६० रनको योगदान दिए । उत्कृष्ट सुरुवात गरेको अफगानिस्ताले आठ रनको अन्तरमा थप तीन विकेट गुमाएको थियो । अजमातुल्लाह ओर्माजी, जर्दान र कप्तान रसिद खानको विकेट लगातार गुमाउँदा अफगानिस्तान १२१–२ बाट १२६–४ को स्थितिमा पुग्यो । जर्दानले ४८ बलमा ६ चौका प्रहार गरी ५१ रन बनाए । मोहमद नैबले चार बलमा दुई चौकाको सहयोगमा १० रन जोडे । 

कमिन्सले लिए एकै विश्वकपमा दुई ह्याट्रिक
अस्ट्रेलियाका लागि अलराउन्डर प्याट कमिन्स व्यक्तिगत रेकर्ड राख्न सफल भएका छन् । उनी एकै विश्वकपमा दुई ह्याट्रिक गर्ने पहिलो बलर बनेका छन् । उनले अफगानिस्तानविरुद्ध ह्याट्रिक विकेट लिए । लगातार दोस्रो खेलमा ह्याट्रिक विकेट लिने क्रममा कमिन्सले अफगानिस्तानविरुद्ध १७.६ ओभरमा रसिद खान र १९.१ ओभरमा करिम जन्नतलाई क्याच आउट गराए । त्यसपछि उनले १९.२ ओभरमा गुल्बदिन नैबलाई ग्लेन म्यक्सवेलबाट क्याच गराउँदै लगातार दोस्रो खेलमा ह्याट्रिक लिए । यसअघिको खेलमा उनले बंगलादेशविरुद्ध ह्याट्रिक लिएका थिए । अफगानिस्तानविरुद्ध उनले चार ओभरमा २८ रन खर्चेर तीन विकेट हात पारे । एडम जाम्पाले २८ रनमा दुई विकेट लिए । 

म्याक्सवेलले दिलाएको आशा 
१४९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाको सुरुवात राम्रो भएन । ५.१ ओभरमा अस्ट्रेलिया ३२–३ को अवस्थामा रह्यो । इनिङ्सको तेस्रो बलमै ट्रेभिज हेडलाई गुमाएको अस्ट्रेलियाले ग्लेन म्याक्सवेलको आक्रामक ब्याटिङमा जितको आशा देखेको थियो । म्याक्सवेल एक्लैले अर्धशतकीय इनिङ्स खेल्दा अफगानिस्तानका बलरलाई गाह्रो भइसकेको थियो ।

गत वर्ष भारतमा भएको एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा म्याक्सवेल एक्लैले अफगानिस्तानविरुद्ध जित दिलाएका थिए । यसपटक पनि म्याक्सवेलले यस्तै इनिङ्स खेल्ने छाँटकाँट देखाए । तर, नैबले १३.३ ओभरमा नुर अहमेदबाट म्याक्सवेललाई क्याच आउट गराउँदै खेल अफगानिस्तानतर्फ ल्याए ।

म्याक्सवेलले केवल ३५ बलमै अर्धशतक बनाए । अफगानिस्तानी बलरले अन्तिम पाँच ओभरमा उत्कृष्ट बलिङ गर्दा अस्ट्रेलिया १०६–६ बाट ११३–९ को कमजोर अवस्थामा पुग्यो । अस्ट्रेलिया १९.२ ओभरमा १२७ रनमा समेटियो । म्याक्सवेलले ४१ बलमा ६ चौका र तीन छक्का प्रहार गरी ५९ रन बनाए । बलिङमा नभिन उल हकले २० रन खर्चेर तीन विकेट हात पारे । 

 इंग्ल्यान्डको जितसँगै अमेरिका बाहिरियो
आयोजक अमेरिका आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल दौडबाट बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत सुपर एटको समूह २ को खेलमा अमेरिका इंग्ल्यान्डसँग १० विकेटले पराजित भयो । जितसँगै इंग्ल्यान्डले तीन खेलबाट ४ अंक जोडेको छ । दक्षिण अफ्रिकाले दुई खेलबाट ४ अंक जोडेको छ । अमेरिकाले तीनवटै खेल गुमाएको छ । 

ब्रिजटाउनमा पहिलो ब्याटिङ गरेको अमेरिका १८.५ ओभरमा ११५ रनमा अलआउट भएको थियो । प्रत्युत्तरमा इंग्ल्यान्डले सानदार १० विकेटको जित निकाल्न ९.४ ओभरसम्म ब्याटिङ गरेको थियो । इंग्ल्यान्डका लागि फिल साल्टले २१ बलमा २१ रन जोडे । उनले दुई चौका प्रहार गरे । कप्तान जोस बटलरले ३८ बलमा सात छक्का र ६ चौकाको सहयोगमा ८३ रनको योगदान दिए । इंग्ल्यान्डले प्रतिओभर १२.१० रनरेटमा ब्याटिङ गरी ११७ रन बनाएको थियो । 

यसअघिको ब्याटिङमा अमेरिकाका लागि नीतीश कुमारले २४ बलमा दुई छक्का र एक चौका प्रहार गरी ३० रनको योगदान दिएका थिए । कोरी एन्डसनले २८ बलमा २९ तथा हर्मित सिंहले १७ बलमा दुई चौका र एक छक्का प्रहार गरी २१ रन जोडेका थिए । प्रतिस्पर्धामा क्रिस जोर्डनले अमेरिकाविरुद्ध ह्याट्रिक लिएका थिए । 

सुझावित समाचार