विश्वकपबाट फर्केपछि कप्तान रोहितले भने– फिल्डिङ र ब्याटिङमा कमजोरी भयो

शुक्रबार, ७ असार, २०८१
डिजिटल संस्करण
विश्वकपबाट फर्केपछि कप्तान रोहितले भने– फिल्डिङ र ब्याटिङमा कमजोरी भयो

विश्वकपमा सहभागी भएर फर्केपछि बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोहितकुमार पौडेल । तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आइसिसी टी–२० विश्वकपमा बलिङ राम्रो, तर फिल्डिङ र ब्याटिङमा कमजोरी भएको बताए । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेको नवौँ विश्वकपमा सहभागी भई बिहीबार स्वदेश फर्केपछि कप्तान रोहितले पिचको अवस्थाका कारण सोचेजस्तो ब्याटिङ नभएको जनाएका छन् । ‘नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा आत्मविश्वास थियौँ, तर मैदानको स्थितिले नतिजा निकाल्न सकेनौँ,’ उनले भने । 

दश वर्षपछि विश्वकपमा सहभागी भएको नेपाल नेदरल्यान्ड्ससँग ६ विकेट पराजित भएको थियो । टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग १ रन र बंगलादेशबाट २१ रनले पराजित नेपालले श्रीलंकाविरुद्ध अंक बाँडेको थियो । रोहितले विशेषगरी अमेरिकाको पिचमा सहभागी अन्य टोलीका खेलाडीले समेत रन बनाउन नसकेको विश्लेषण गरेका छन् । ‘अमेरिकाको पिच सबैले देख्नु नै भएको छ, कसैको राम्रो स्कोर बन्न सकेको थिएन,’ उनले भने ।

समूह ‘डी’मा चारमध्ये तीन खेलमा नेपालको फिल्डिङ र ब्याटिङमा कमजोरी भएको उनले स्विकारेका छन् । ‘ब्याट्सम्यानलाई चुनौती थियो, उनीहरूलाई मात्रै दोष दिएर हुँदैन । बलरलाई राम्रो ठाउँ थियो, त्यहीअनुसारको नतिजा पनि यो विश्वकपमा आइरहेको छ । पक्कै पनि हामीहरूको फिल्डिङमा कमजोरी थियो, त्यसमा सुधार गरेर जानेछौँ,’ उनले भने, ‘ब्याटिङमा पनि सुधार गर्न जरुरी छ ।’ 

शीर्ष क्रमका खेलाडी जिम्मेवार भएनन्
समूहको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरेको थियो । बंगलादेशलाई सस्तैमा समेटेको पनि थियो । तर, शीर्ष क्रमका ब्याट्सम्यानले जिम्मेवारीपूर्वक नखेल्दा नेपालले जित निकाल्न नसकेको कप्तान रोहितको प्रतिक्रिया रह्यो । ‘बंगलादेशविरुद्ध बलरले राम्रो प्रदर्शन गरेपछि ब्याट्सम्यानले जिम्मेवार लिँदै ब्याटिङ गर्नुपर्ने थियो, तर उनीहरू चुके,’ उनले भने । 

ओपनिङमा राम्रो गर्नेले नै मौका पाउने उनले जनाए । ‘लामो समयदेखि नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले राम्रो प्रदर्शन गरिरहेका छन्, यसकारण विश्वकपमा उनीहरूले नै निरन्तरता पाएका थिए,’ ओपनिङ जोडी परिवर्तन नहुनुका कारण उनले देखाए, ‘ओपनिङ लाइनअप परिवर्तन हुँदा यसको असर हुने गर्छ, राम्रो खेलाडीका लागि सधैँ बाटो खुला छ ।’ श्रीलंकाविरुद्ध जितको आशा भए पनि वर्षाका कारण खेल हुन नसक्दा नेपाललाई घाटा भएको उनले सुनाए । 

गुल्सनलाई गाली नगर्नुस् 
दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल हार्नुका प्रमुख कारणका रूपमा गुल्सन झामाथि दोष थोपारिएको थियो । तर, रोहितले गुल्सनको प्रतिरक्षा गर्दै नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन् । ‘गुल्सनकै कारण नेपाली क्रिकेट यहाँसम्म आएको हो, दक्षिण अफ्रिकाविरुद्ध हारको दोष उसलाई लगाइएको थियो, फिल्डमा फ्यानभन्दा बढी गुल्सन दुःखी भएको हामीले पायौँ,’ उनले भने, ‘फ्यानले उसकै अगाडि तिमीले गरेर हारेको भनेका थिए, त्यो सुनेर नराम्रो लाग्यो, गाली नगर्न आग्रह गरिएको थियो ।’ 

यसैबीच, टोलीका सहायक प्रशिक्षक वसन्त शाहीले अनुभवको कमीका कारण गुल्सन रनआउट भएकाले उसलाई दोष दिनुपर्ने कारण नरहेको बताए । ‘सोमपाल र गुल्सन केही सोच्नै नसक्ने अवस्थामा थिए । यो सबै अनुभवको कमीको कारण नै हो,’ उनले भने, ‘गुल्सन युवा खेलाडी भएको र सिक्दै गरेको अवस्थामा छन् । अनुभवको कमी छ । के गरौँ, गरौँ भन्ने भयो,’ दक्षिण अफ्रिकासँगको अन्तिम ओभरको स्मरण गर्दै उनले भने, ‘बलले हिट गरेपछि बल पछि नै छ भनेर आरामले दौडिएका थिए, कसैलाई दोषारोपण गर्ने, दोष लगाउन जरुरत छ जस्तो लाग्दैन ।’ 

बलियो टोलीसँग तयारी गर्नुपर्छ
नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो नतिजा निकाल्न आफूभन्दा बलिया राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने कप्तान रोहितले बताए । ‘आगामी विश्वकपका साथै अन्य अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा राम्रो नतिजा निकाल्न राम्रो टोलीसँग तयारी गर्दा नतिजा आउन सक्छ,’ उनले भने, ‘पछिल्लो समय नेपालले सुधार गरिरहे पनि देशबाहिर एक्पोजर पायौँ भने राम्रो गर्न सक्छौँ होला ।’ उनले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइटमा प्रशिक्षण गर्न पाउँदा आफूहरूलाई सजिलो हुने बताए । 

See More On

सुझावित समाचार