कर्मचारीको आन्दोलनले सदन सञ्चालनमा असर

बिहिबार, ७ असार, २०८१
डिजिटल संस्करण

संसद् सेवाका कर्मचारीको आन्दोलनले सदन सञ्चालनमा असर परेको छ । बुधबार संसद्को लाइभमा सांसदहरूलाई नदेखाएपछि मन्त्रीहरूको जवाफ नै प्रभावित भएको छ । 

आगामी आवको बजेट, विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत शीर्षकमा सदनमा छलफल भइरहँदा कर्मचारीहरूले कालोपट्टी बाँध्ने, संसद् भवनपरिसरमा धर्नालगायत कार्यक्रम गरिरहेका छन् । कर्मचारीका मागमा सभामुखसहित संसद्का पदाधिकारी र दलहरू सकारात्मक भए पनि सरकारले सुनुवाइ गरेको छैन । 
आन्दोलनका कार्यक्रम थालेको लामो समयसम्म आफ्ना मागको सम्बोधन नभएपछि कर्मचारीहरूले काम नै अवज्ञा गर्न थालेका छन् । मंगलबार र बुधबारको प्रतिनिधिसभा बैठकमा कर्मचारीले संसद् बैठकको भिडियो लाइभ गर्ने कार्यमा पनि अवज्ञा गरेर दबाब दिएका छन् । 

कर्मचारीको दबाबका कारण पछिल्लो दुई दिनको बैठक पनि समयमा बस्न सकेको छैन । कर्मचारीले असहयोग गर्ने भनेपछि बुधबार मात्रै निर्धारित समय ११ बजेभन्दा एक घण्टापछि मात्रै बैठक बसेको थियो । सांसदहरूले माग सम्बोधन गर्न सदनबाटै सरकारको ध्यानाकर्षण पनि गराइरहेका छन् । तर, सुनुवाइ भएको छैन । 

मंगलबार संसद्को प्रत्यक्ष प्रसारणमा आंशिक रूपमा अवज्ञा गरेका कर्मचारीले बुधबार साँझ ५ बजेपछि पूरै अवज्ञा गरेपछि बैठक नै स्थगित गर्नुपरेको छ । मंगलबार बैठकको सुरुवातमै आकस्मिक समयमा सांसदहरूले बोलिरहँदा कर्मचारीहरूले लाइभ देखाएनन् । सांसदहरू बोलिरहँदा १२ मिनेटसम्म सभामुखलाई देखाइएको थियो । 

कार्यालय समयबाहेक अतिरिक्त काम गरेको भत्ता दिनुपर्ने, घरभाडा, शैक्षिक भत्तालगायत १५ वर्षअघि निर्धारण गरिएका सुविधाहरू समयानुकूल बनाउनुपर्नेलगायत ११ बुँदे माग राखेर संसद् सेवाका कर्मचारी पछिल्लो १५ दिनदेखि आन्दोलनमा छन् । आन्दोलनरत कर्मचारीका प्रतिनिधि गोविन्द बेल्वासेले संसद् सचिवालयलाई जानकारी गराएर प्रत्यक्ष प्रसारणमा अवज्ञा गरिएको बताए । ‘हाम्रो आवाज नसुनिएकाले अवज्ञा गर्नुपरेको छ । माग सम्बोधन नभए आगामी बैठकमा अझै सशक्त रूपमा प्रस्तुत हुन्छौँ,’ उनले भने । 

उनका अनुसार बुधबार कर्मचारीको धर्नाबीच सदन चलाए सहयोग नगर्ने भनिएपछि १२ बजे प्रतिनिधिसभा सुरु भएको थियो । कर्मचारीले सदनभित्र एक घण्टा धर्ना दिएका थिए । १२ बजे सुरु भएको बैठक ३ बजेसम्म चलेको थियो । बैठकमा खेलकुद मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमा छलफल भयो । १५ मिनेटका लागि बैठक स्थगित गरियो । 

निर्धारित कार्यसूचीअनुसार विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नमा मन्त्रीहरूको जवाफका लागि १५ मिनेटपछि बस्नुपर्ने बैठक कर्मचारीहरूको आन्दोलनकै कारण ४ बजे मात्र सुरु भयो । कर्मचारीहरूले ५ बजेपछि बैठक चलाउन सहयोग गर्न नसकिने जानकारी पहिले नै गराएका थिए । तर, निर्धारित कार्यसूचीमा आठजना मन्त्रीले जवाफ दिने कार्यक्रम तय गरियो ।

तर, ‘कर्मचारीहरूको विरोधका कारणले सांसदहरूले बोलेका अभिव्यक्तिहरू प्रसारण बन्द भएको छ । सम्पूर्ण बन्द गरेर सदन चलाउने कि नचलाउने सभामुखज्यू ? यो ब्ल्याकआउट गरेर सदन नचलाऊँ । यो हुँदैन,’ कांग्रेस सांसद रामहरि खतिवडाले यस्तो भनेपछि सभामुख घिमिरेले बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरे । 

सुझावित समाचार