मकवानपुरमा पालिका अध्यक्षको घरमा आगलागी

मंगलबार, २९ जेठ, २०८१
डिजिटल संस्करण

मकवानपुरमा आगलागीबाट गाउँपालिकाका अध्यक्षको घर जलेर नष्ट भएको छ।

मकवानपुर प्रहरीले दिएको जानकारीअनुसार मंगलबार दिउँसो जिल्लाको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको घर जलेर नष्ट भएको हो।

गाउँपालिकाको वडा नम्बर ३ धमिलेमा रहेको अध्यक्ष स्याङ्तानको काठ र माटोले बनेको बुँइकलसहितको दुईतले घरको पहिलो तला र बुँइकल जलेर नष्ट भएको हो। मकवानपुर प्रहरीका अनुसार घरको भुइँतलामा भने आगलागीबाट आंशिक क्षति पुगेको छ।

आगलागीबाट करिब १५ लाख रुपैयाँबराबरको धनमालको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। घरमा लागेको आगो हेटौँडा उपमहानगरपालिकाबाट गएको दमकल, प्रहरी र स्थानीयको सहयोगमा करिब दुई घण्टापछि निभाइएको थियो।

दिउँसोको समयमा घरमा आगो लागेको र घरमा कोही नभएका कारण मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। विद्युत् सर्ट हुँदा आगलागी भएको प्रहरीको भनाइ छ।

सुझावित समाचार