काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबिबिएससहित चिकित्सा शिक्षाको सिट निर्धारण गरेसँगै कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पठनपाठनको बाटो खुलेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले शैक्षिक सत्र ०८३/८४ का लागि कुल नाै हजार ६९१ सिट निर्धारण गर्दा दशरथ चन्दमा एमबिबिएस, बिएस्सी नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी र अप्टोमेट्री ९० सिट निर्धारण गरेको हो । जसमा एमबिबिएसमा ५०, नर्सिङमा २०, मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी) मा १० र बी अप्टोमेट्रीमा १० सिट छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमातहतका धनगढीस्थित सेती प्रादेशिक अस्पताल, लम्की प्रादेशिक अस्पताल र टीकापुर अस्पताल तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालको रूपमा प्रयोग गर्न दिने निर्णय गरिसकेको छ ।
यो नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय हो । सुदूरपश्चिम प्रदेशमा यसअघि चिकित्सा शिक्षाको पठनपाठन हुने सरकारी र निजी क्षेत्रको एउटा पनि संस्था थिएनन् । गेटामा पठनपाठन सुरु भएपछि स्वास्थ्य जनशक्ति उत्पादनसँगै स्वास्थ्य उपचार क्षेत्रमा ठुलो परिवर्तन हुने अपेक्षा गरिएको छ ।
गेटामा पाँच वर्षअघि नै करिब पौने सात अर्बका संरचना बनिसकेका छन् ।