शुक्रबार १० बजेसम्मका प्रमुख १० खबर

शुक्रबार, ३० असोज, २०८३
डिजिटल संस्करण

अब सडक निर्माणमा बिटुमिन र असफाल्टको विकल्प खोज्नुपर्ने, स्वदेशी सामग्रीलाई प्राथमिकता

सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकता दिने नीति अघि सारेको छ। मन्त्रिपरिषद् बैठकले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्द्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गरेसँगै सडक, पुल तथा भवन निर्माणमा आयातित सामग्रीको निर्भरता घटाउने व्यवस्था गरिएको हो।

निर्देशिकाअनुसार सडक निर्माणको डिजाइन तयार गर्दा प्राविधिक रूपमा उपयुक्त स्वदेशी विकल्प उपलब्ध हुँदाहुँदै आयातित सामग्री प्रयोग गर्नुपर्ने गरी डिजाइन बनाउन पाइनेछैन। बिटुमिन र असफाल्टमा आधारित कालोपत्रे सडकको विकल्पका रूपमा स्वदेशी सिमेन्टबाट निर्मित कंक्रिट सडक, स्थानीय ढुंगा तथा अन्य उपयुक्त निर्माण प्रविधिलाई प्राथमिकता दिनुपर्नेछ। यद्यपि, यसले बिटुमिन र असफाल्टको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको भने होइन।

दसैँका लागि दुबई पुग्यो डिडिसीको याक चिजसहित थप १५ सय किलो घिउ

 दुग्ध विकास संस्थान (डिडिसी)को थप एक हजार पाँच सय किलो घिउ र याक चिज संयुक्त अरब इमिरेट्स (युएई)को दुबई पुगेको छ। यसअघि परीक्षणका रूपमा पुगेको एक हजार पाँच सय किलो घिउले बजारमा सकारात्मक प्रतिक्रिया पाएपछि दसैँ र तिहारलाई लक्षित गरेर याक चिजसहित पुनः घिउ पठाइएको हो।

रातो र चन्द्र–सूर्य इन्टरनेसनलका प्रबन्ध–निर्देशक प्रकाशचन्द्र घिमिरेका अनुसार नेपालबाट पठाइएका उत्पादन दुबईमा रहेको मातृभूमि जनरल ट्रेडिङ एलएलसीको सोनापुर, मुराक्काबात र सालाह अल दिन मेट्रो स्टेसन गरी तीन स्थानबाट बिक्री–वितरण हुँदै आएका छन्।

यो कम्पनीले दुई वर्षदेखि विभिन्न नेपाली रैथाने उत्पादन विदेशी बजारमा पुर्याउँदै आएको छ। ‘विगतमा गएको घिउले राम्रो बजार लियो। माग बढेपछि अहिले १५० केजी याक चिज, पेडा र घिउ थपेका छौँ,’ घिमिरेले भने, ‘हामीले नेपाली उत्पादनलाई विदेशमा रहेका नेपालीसँगै अन्य उपभोक्तामाझ पुर्याएर बजार विस्तार गर्ने उद्देश्यले काम गरिरहेका छौँ। दुबईलाई प्रवेशद्वार बनाएर भविष्यमा युएईबाहेक पश्चिम एसियाका अन्य बजारमा समेत नेपाली दुग्धजन्य उत्पादन विस्तार गर्ने हाम्रो लक्ष्य छ।’

दशरथ चन्द विश्वविद्यालयमा चिकित्सा शिक्षा पठनपाठनको बाटो खुल्यो

चिकित्सा शिक्षा आयोगले एमबिबिएससहित चिकित्सा शिक्षाको सिट निर्धारण गरेसँगै कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पठनपाठनको बाटो खुलेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले शैक्षिक सत्र ०८३/८४ का लागि कुल नाै हजार ६९१ सिट निर्धारण गर्दा दशरथ चन्दमा एमबिबिएस, बिएस्सी नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी र अप्टोमेट्री ९० सिट निर्धारण गरेको हो । जसमा एमबिबिएसमा ५०, नर्सिङमा २०, मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी) मा १० र बी अप्टोमेट्रीमा १० सिट छन् । 

नेपाल प्रिमियर लिगलाई आइसिसीको मान्यता

नेपाल प्रिमियर लिग (एनपिएल)लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले औपचारिक मान्यता प्रदान गरेको छ। एनपिएलको तेस्रो संस्करणलाई आइसिसीले मान्यता प्रदान गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

आइसिसीबाट प्राप्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुग्ने क्यानको विश्वास छ।

आइसिसीको एसिया सम्मेलन नेपालमा हुने

‘आइसिसी एसिया कन्फ्रेन्स’ नेपालमा हुने भएको छ। आइसिसीको एसिया सम्मेलन १९ देखि २१ नोभेम्बरसम्म हुने तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

क्यानको व्यवस्थापन तथा आइसिसीको आयोजनामा हुन लागेको सम्मेलनमा एसियाका टेस्ट मान्यताप्राप्त राष्ट्रहरूका साथै एसोसिएट सदस्य राष्ट्रहरूका आधिकारिक प्रतिनिधिहरू र अन्तर्राष्ट्रिय क्रिकेटका उच्चपदस्थ प्रतिनिधिहरू सहभागी हुने छन्।

दसैँको मौसम : फूलपातीदेखि टीकासम्म कुन दिन कस्तो ?

यस वर्षको दसैँ अवधिमा देशका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने देखिएको छ। तर, हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा भने बादल लाग्ने, हल्का वर्षा हुने र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालबाट मनसुन बहिर्गमन भइसकेको अवस्थामा पश्चिमी वायुको आंशिक प्रभावका कारण दसैँका केही दिन हिमाली तथा पहाडी क्षेत्रमा मौसम बदली हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको दसैँ विशेष मौसम बुलेटिनअनुसार फूलपातीदेखि दसैँको टीकासम्म देशका विभिन्न भूभागमा मौसमको अवस्था फरक रहनेछ। तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतः सफा रहने पूर्वानुमान छ।

फूलपाती : फूलपातीका दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ। देशका अन्य हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ।

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

 राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिले शुक्रबार नवप्रवर्तन र नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठानसम्बन्धी अध्यादेश जारी गरेका हुन्।

‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ जारी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले गहुँको समर्थन मूल्य निर्धारण, बुढीगण्डकी बाढी प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा, बाढीपीडितलाई राहत सुविधा प्रदान गर्नेलगायतका विभिन्न निर्णयहरू गरेको छ। सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बैठकका निर्णयहरबारे जानकारी दिएका हुन्।

मन्त्री तिमिल्सिनाका अनुसार मन्त्रिपरिषद्ले बुढीगण्डकी विकास प्राधिकरण र राष्ट्रिय रोजगारसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिनुका साथै जापान र जर्मनीबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्नेलगायतका निर्णयहरू गरेको छ।

सरकारले तोक्यो गहुँको न्यूनतम समर्थन मूल्य

सरकारले चालू आर्थिक वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ। शुक्रबारको मन्त्रिपरिषद् बैठकले न्यूनतम मूल्य तोकेको हो।

चालू आ.व. ०८३/८४ को लागि गहुँको न्यूनतम समर्थन मूल्य चार हजार १०७ रुपैयाँ प्रतिक्न्टिल तोक्ने निर्णय भएको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए।

थप ६ स्थानीय तह विपत् संकटग्रस्त क्षेत्र घोषणा

 सरकारले गोरखा, धादिङ र बागलुङ जिल्लाका थप ६ स्थानीय तहलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले ८ देखि ११ असोजको बाढीपहिरोबाट अतिप्रभावित यी क्षेत्रलाई विपत् संकटग्रस्त घोषणा गरेको हो।

गोरखाको चुमनुब्री, धार्चे र आरूघाट गाउँपालिका, धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं. १ र २ तथा बागलुङको गलकोट र ढोरपाटन नगरपालिकालाई तीन महिनाको अवधिका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गरिएको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए।

सुझावित समाचार