सामुदायिक विद्यालयले भाडा लगाएका ६१ वटा सटरमा महानगरको ताला

सोमबार, २८ जेठ, २०८१
डिजिटल संस्करण
सामुदायिक विद्यालयले भाडा लगाएका ६१ वटा सटरमा महानगरको ताला

बागबजारस्थित सहिद शुक्र माविले भाडामा लगाएका सटरमा ताला लगाउँदै महानगरीय प्रहरी ।

काठमाडौं महानगरपालिकाको शिक्षा विभागले चारवटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको छ । शैक्षिक क्रियाकलापका लागि उपयोग हुनुपर्ने ठाउँ भाडामा लगाएर आय गरेको फेला परेपछि महानगरले आइतबार ती सटरहरूमा ताला लगाएको हो ।

विभागसँग प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले विद्यालयमा पुगेर व्यावसायिक प्रयोजनमा आएका सटर तथा टहराहरूमा ताला लगाएको हो । यसरी ताला लगाइएका सटरहरूमध्ये रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा सटर, बागबजारमा रहेको सहिद शुक्र माविले भाडामा दिएका २२ वटा सटर, विजय स्मारक मावि डिल्लीबजारले भाडामा लगाएका आठवटा सटर र पदमकन्या मावि डिल्लीबजारले भाडामा लगाएका १४ वटा सटर छन् । 

उक्त सटरहरूमा ताला लगाएर चाबी प्रधानाध्यापकहरूलाई बुझाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिए । यसरी ताला लगाइएका सटरमा पुनः व्यवसाय चलाउन पाइँदैन । व्यवसायीलाई आफ्ना सामान लैजान सात दिनको समय दिइएको छ । ‘महानगरपालिकाभित्रका ३७ वटा विद्यालयले सटर वा विद्यालयपरिसरमा टहरा बनाएर भाडामा लगाएको देखिएको छ । यी सबै सटर र टहरा शैक्षिक क्रियाकलापका लागि प्रयोगमा ल्याइनेछन्,’ दाहालले भने, ‘विद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक स्रोत महानगरपालिकाले प्रदान गरिरहेको छ । विद्यालयले माग गरेको भन्दा धेरै कार्यक्रम पठाएको छ ।’ 

‘विद्यालयहरू स्थान अभाव भएको र शैक्षिक कार्यक्रम सञ्चालनमा असहज भएको भन्दै आएका थिए । यसरी गुनासो गरिरहँदा आफूसँग भएको स्थानलाई प्रयोगमा ल्याउने विषयमा कहिल्यै कुरा आएन ।’ मेयरको सचिवालय सदस्य सस्मिता पोखरेल भन्छिन्, ‘विद्यालयमा विज्ञान र  कम्प्युटर ल्याब बनाउनुपर्नेछ । पढ्ने संस्कृति बसाउन पुस्तकालय बनाउनुपर्नेछ । भाडामा लगाइएका स्थान खाली गरेर शैक्षिक क्रियाकलाप सञ्चालन उपयोगमा ल्याउँछौँ ।’ 

विद्यालयको सम्पत्ति शैक्षिक क्रियाकलाप सञ्चालनमा उपयोग हुनुपर्छ । विद्यालयले सरकारी सम्पत्ति आफूखुसी भाडा लगाउन पाउँदैनन् । कतिपय विद्यालयले नक्सा स्वीकृत नगरी टहरा बनाएर भाडामा लगाएका पनि छन् । यी सबै ठाउँबाट व्यावसायिक प्रयोजन हटाइनेछ र शैक्षिक क्रियाकलाप स्थापित गरिनेछ ।

सुझावित समाचार