मोफसलका आरसी ३२ स्पोर्टस् एकेडेमी र बागमती युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएका छन् । यी दुवै क्लबले अब ‘बी’ डिभिजन लिग खेल्नेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चलिरहेको सहिद स्मारक ‘सी’ डिभिजन लिगमा आरसी ३२ र बागमती शीर्ष दुईमा रहँदै बढुवा भएका हुन् ।
१२ चरणको खेल सकिँदा बागमती २९ अंकसहित शीर्ष स्थानमा छ । उसले १२ मध्ये नौ जित, दुई बराबर र एक खेलमा हार सामना गरेको छ । बागमतीले २४ गोल गर्दा सात गोल व्यहोरेको छ । दोस्रो स्थानको आरसी ३२ ले १२ मध्ये आठ जित, दुई बराबर र दुई हारका साथ २६ अंक जोडेको छ । आरसी ३२ ले २१ गोल गर्दा ११ गोल व्यहोरेको छ । दुई खेलमा नियमविपरीतका खेलाडी खेलाउँदा आरसी ३२ ले ४ अंक गुमाएको थियो । अंक खोसिएको खेलमा आरसीले एक बराबर र एक जित निकालेको थियो ।
सी डिभिजनको १२औँ चरणसम्म शीर्ष स्थानमा त्रिकोणात्मक भिडन्त चलेको थियो । पुल्चोक २२ जेठमा सानेपासँग २–१ ले पराजित भएपछि आरसी ३२ र बागमती बी डिभिजनमा उक्लेका हुन् । सुर्खेतको आरसी ३२ र सर्लाहीको बागमती युथबीच विजेताको होडबाजी चल्नेछ । अन्तिम खेलमा बागमतीले पुल्चोकको सामना गर्नेछ । आरसीले सानेपाविरुद्ध खेल्नेछ । आरसी ३२ का प्रशिक्षक गणेशले खड्का ‘बी’ डिभिजनमा उक्लने योजना सफल भएको बताए । ‘खेलाडीको मिहिनेत र चुस्त व्यवस्थापनका कारण बी डिभिजन पुग्यौँ,’ प्रशिक्षक खड्काले भने ।
४ अंक खोसिए पनि रोकिएन आरसी ३२
दुई वर्षदेखि हुन नसकेको ‘बी’ डिभिजन लिगमा अनुबन्ध बबिन बोहरा र सुमनबहादुर मगरले यसपटक आरसी ३२ बाट प्रतिस्पर्धा गरेका थिए । तर, फरक दुई क्लबमा आबद्ध भएको जनाउँदै एन्फाले दुवै खेलाडीलार्ई ‘सी’ डिभिजनमा बाँकी खेलमा भाग लिन नपाउने गरी निलम्बन ग¥यो । बबिन टोखा र सुमनमाथि झापामा अनुबन्ध भएको आरोप थियो । सी डिभिजन लिगमा आबद्ध नौ क्लबले संस्थापन पक्षको आरसी ३२ मा अनुबन्ध भएका दुई खेलाडीलाई कारबाहीका लागि उजुरी गरेका थिए । एन्फाले २३ वैशाखमा पहिलोपटक बबिन र सुमनसहित सामाजिक युवा क्लबलाई कारबाही ग¥यो । दोस्रोपटक ३१ वैशाखमा एन्फाले दुवै खेलाडी निलम्बनसँगै आरसी ३२ लाई १० हजार रुपैयाँ जरिवाना ग¥यो । एन्फाले कारबाहीका रूपमा आरसी ३२ ले खेलेका दुई खेलको नतिजा उल्ट्याउँदै ४ अंक खोस्यो । त्यसपछिका खेलमा आरसी ३२ ले हार सामना गरेन ।